रत्ननगर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ। पार्टीले चितवन क्षेत्र नम्बर १ बाट पुनः हरि ढकाललाई नै टिकट प्रदान गरेको छ। ढकालले बिप्स मिडियासँगको कुराकानीमा पार्टीले आफूलाई सोही क्षेत्रबाट चुनाव लड्न जिम्मेवारी दिएको जानकारी दिएका हुन्। यसअघि २०७९ को निर्वाचनमा ढकालले रास्वपाकै तर्फबाट प्रतिस्पर्धा गर्दै नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
ढकालका अनुसार पार्टीले यसअघि निर्वाचन जितेका अन्य सांसदहरूलाई पनि अधिकांश पुरानै क्षेत्रमा उम्मेदवार बनाउने निर्णय गरेको छ। जसअनुसार सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २, स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर १, विराजभक्त श्रेष्ठ काठमाडौँ क्षेत्र नम्बर ८, शिशिर खनाल काठमाडौँ क्षेत्र नम्बर ६, गणेश पराजुली काठमाडौँ क्षेत्र नम्बर ७ र डा. तोसिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाटै उम्मेदवार बन्ने निश्चित भएको छ।
यद्यपि, काठमाडौँबाट निर्वाचित सांसद सोविता गौतमको हकमा भने पार्टीले क्षेत्र परिवर्तन गरेको छ। यसअघिको निर्वाचनमा काठमाडौँबाट विजयी भएकी गौतमलाई यसपटक रास्वपाले चितवन क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा उतार्ने भएको छ। गौतमबाहेक साविकमा विजयी भएका अन्य ७ जनाले भने पहिलेकै क्षेत्रबाट टिकट पाएको ढकालले पुष्टि गरेका छन्।