Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

होटल सीवीसी व्यवस्थापन भारतीय चेन होटल लर्डसले लियो, पर्यटन बजार विस्तारमा सहयोग पुग्ने

होटल सीवीसी व्यवस्थापन भारतीय चेन होटल लर्डसले लियो, पर्यटन बजार विस्तारमा सहयोग पुग्ने

चितवन :  चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (सीवीसी) भारतीय चेन होटल  लर्डस इन होटल एन्ड रिसोर्टले व्यवस्थापन गर्ने भएको छ। व्यवस्थापन सम्झौतामा यस सम्बन्धमा सोमबार साँझ दुई कम्पनीबीच सम्झौता भएको हो। यसबाट नेपालको पर्यटन व्यवसाय थप प्रवर्द्धन हुने जनाइएको छ। 

भरतपुर महानगर–१० विमानस्थल अगाडि रहेको सीवीसी जिल्लाका अग्रणी व्यवसायीहरुको साझेदारीमा निर्माण गरिएको थियो। सीवीसीका कार्यकारी अध्यक्ष दिनुप बराल र रिसोर्टका एसोसिएट भाइस प्रेसिडेन्ट शैलेज एन  टेरीबीच सोमबार सम्झौता भएको हो। 

सम्झौतासँगै लड्र्स सीवीसी प्लाजाका नाममा होटल सञ्चालनमा आएको छ। सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा टेरीले आफूहरुले भारतमा ७०, अमेरिकामा एक र नेपालमा योसहित तेस्रो होटलको व्यवस्थापन गरेको बताए।

काठमाडौँ, नेपालगञ्जपछि भरतपुरमा होटलक व्यवस्थापन सुरु गरेको उनको भनाइ छ। यो आफ्नो समूहको ७४औँ होटल भएको भन्दै उहाँले नेपालको काठमाडौंमा थप एक र विराटनगरमा एक होटल व्यवस्थापन गर्न लागेको जानकारी दिए।


यस वर्ष लड्र्स ग्रुपले विभिन्न देशमा गरी थप १५ होटलको व्यवस्थापनको तयारी गरेको छ। उनले चेनमा चल्ने भएकाले विश्वबजारमा बजारीकरण गरेर पाहुना ल्याउने काममा लाग्ने बताए।

यो समूहले तीन तारेदेखि पाँच तारे होटलको व्यवस्थापन गर्दै आएको छ। ७४ होटलमा तीन हजारभन्दा बढी कोठा रहेको र वार्षिक सरदर ५० प्रतिशतभन्दा बढी भरिने गरेको उनले जानकारी दिए।

सोही अवसरमा सीवीसीका कार्यकारी अध्यक्ष बरालले होटल ‘लर्डस’ सीबीसी प्लाजासँगै सपिङ स्टोर ‘सेल्सबेरी’ एउटै कम्प्लेक्समा सञ्चालनमा रहेको बताए। एक लाख सात हजार स्क्वायरफिटमा फैलिएको कम्प्लेकसमा यी सेवा सञ्चालन गरिएको उनको भनाइ छ।

उनका अनुसार दुई तला अन्डरग्राउन्डसहित ११ तला रहेको उक्त कम्प्लेक्समा अन्डरग्राउन्ड दुई तलामा पार्किङ, तीन तलामा सेल्सबेरी, ६ वटा तलामा होटल सञ्चालन गरिएको छ। उनले अन्तरराष्ट्रिय रुपमा ख्यातिप्राप्त विभिन्न देशमा चेन होटल सञ्चालन गरेका लर्डससँगको सहकार्यले व्यवसाय प्रवर्द्धनमा सघाउन विश्वास व्यक्त गरे।

होटलमा ६०  कोठा  छन्। तीमध्ये प्रेसिडेन्टियल एक, स्वीट तीन, सुपर डिलक्स १०, प्रिमियम १५ र बाँकी स्ट्यान्डर्ड कोठा छन्। होटलमा ५०० क्षमताको सभाकक्ष, १०० क्षमताको कन्फ्रेन्स हल, ३० जना क्षमताका तीनवटा बैठक कक्ष रहेका छन्।

रेस्टुरेन्टमा बाहिर र भित्र गरी १२५ जना एकै पटक बसेर सेवा लिन सक्ने क्षमता रहेको छ । भवनको माथिल्लो तलामा स्विमिङ पुल छ। सम्झौतासँगै होटलको खानामा १० प्रतिशत र कोठाहरुमा २५ प्रतिशत छुट गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट