Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

त्रिशुली किनारमा भेटिएको बसको अवशेष उत्खनन भोलि पनि जारी रहने

त्रिशुली किनारमा भेटिएको बसको अवशेष उत्खनन भोलि पनि जारी रहने

मुग्लिन :  तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोङद्राङस्थित त्रिशुली नदी किनारमा फेला परेको बसको अवशेष भोलि पनि उत्खनन गरिने भएको छ । उक्त अवशेष डेढ वर्षअघि चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा त्रिशुली नदीमा खसेको बसकै हुन सक्ने प्रहरीको अनुमान छ ।

स्थानीयवासीले आइतबार बिहान बालुवामा पुरिएको अवस्थामा बसको केही भाग देखिएको जानकारी दिएपछि इलाका प्रहरी कार्यालय आबुखैरेनीको टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक रूपमा घरेलु उपकरण प्रयोग गरी बालुवा हटाउँदा निलो रङको बसको अगाडिको केही भाग देखिएको इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिमलताल दुर्घटनामा परेको गणपति डिलक्स बसकै अवशेष हुन सक्ने सम्भावना देखिएको छ । उत्खननका क्रममा पानी निस्कन थालेपछि थप कार्यका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिटारको टोलीसमेत परिचालन गरिएको थियो । यद्यपि, बसको अगाडिको सम्पूर्ण भाग निकाल्न कठिनाइ भएको प्रहरीले जनाएको छ ।

यसैबीच, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल घटनास्थल पुग्नुभएको थियो । उहाँले सोमबारदेखि पुनः उत्खनन कार्य सुरु गर्न निर्देशन दिनुभएको छ ।उल्लेखनीय छ, २०८१ असार २८ गते बिहान काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर सिमलतालमा पहिरोमा बग्दै त्रिशुली नदीमा खसेर बेपत्ता भएका थिए ।

दुवै बसमा सवार ६५ यात्रुमध्ये गणपति यातायातको बसका तीन यात्रु भने पौडिएर ज्यान जोगाउन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट