Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चितवन ‍निकुञ्जमा बाघ गन्न राखिएका ५ क्यामेरा हराए

चितवन ‍निकुञ्जमा बाघ गन्न राखिएका ५ क्यामेरा हराए

चितवन :  चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका सात वटा क्यामेरामा क्षति पुगेको छ।पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणनाका क्रममा राखिएका पाँच क्यामेरा हराएका छन् भने दुई क्यामेरा हात्तीले फुटाएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार बाघ गणनामा राखिएका क्यामेरामध्ये तीन वटा थुम्सी क्षेत्रमा र दुई वटा तमासपुर क्षेत्रमा राखिएका क्यामेरा हराएका हुन्।

टाइगर टप्स क्षेत्रमा रहेका दुई क्यामेरा हात्तीले फुटाएको उनले बताए। यहाँ करिब २८६ ग्रिडमा क्यामेरा राखेर बाघ गणना गरिएको थियो ।मगरका अनुसार पहिलो भागको गणनाको काम सकेर क्यामेरा उठाउने क्रममा तीन स्थानमा राखिएका क्यामेरा हराएको र हात्तीले क्षति पुर्याएको पाइएको हो ।

चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गणना सुरु गरिएको छ । उनका अनुसार त्रिवेणी, अमलटारी, कसरा हुँदै बरणडाभार क्षेत्रलाई पहिलो भाग बनाएर गणना गरिएको थियो ।

अहिले दोस्रो भागमा बाघ गणनाको कार्य सुरु गरिएको छ । दोस्रो भागमा १३ वटा क्याम्प बनाएर गणकहरु खटिएका छन् ।

यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर र हर्दासम्म, बोटे सिमारा, स्वमेश्वर, बगई, अम्बुवा हुँदै सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको छ । उक्त भागलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिएको छ । गणनामा १५० गणक खटिएका छन् । थापाका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखेर बाघ गणना गरिने छ ।

चितवन–पर्सा ब्लकमा ९५८ ग्रिड बनाएर बाघ गणना गरिँदै छ । यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वयस्क बाघ रहेको तथ्यांक सार्वजनिक भएको थियो । उक्त गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट