कुरिनटार,२०पुस : मुग्लिन–मलेखु सडकको काम ४० प्रतिशत पुरा भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना अन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडक खण्डको काम हाल सम्म ४० प्रतिशत सम्पन्न भएको सडक निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनी शर्मा एण्ड कम्पनीको पश्चिम खण्डका प्रोजेक्ट म्यानेजर निर्माण पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस सडकखण्डमा साढे आठ किलोमिटर कालोपत्र सम्पन्न भएको छ । लेवाटार,कुरिनटार,चुम्लिङ्गटार,फिस्लङ्ग र मझिमटारमा गरि साढे आठ किलोमिटर कालोपत्र सम्पन्न गरिएको हो । साथै सो सडक खण्डमा रहेका छ वटा पुलमध्ये चार वटा पुलको काम सम्पन्न भएको छ । बार्बाङखोला, मौवाखोला,खटौतीखोला र गोमतीखोलाको पुलको काम सम्पन्न भएको प्रोजेक्टर म्यानेजर पोखरेलले बताउनुभयो । उहाँका अनुसार बाँकी दुई वटा पुल निर्माणको काम भइरहेको छ । हुग्दीखोला र चरौँदीमा पुल निर्माणको काम भइरहेको छ ।
मुग्लिनदेखि–मलेखुसम्मको ३८.८६ किलोमिटर क्षेत्रमा सडक विस्तार र कालोपत्रेको काम भइरहेको हो । वि.सं २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्ने गरी यो सडक ठेक्का लगाइएको थियो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा सडकखण्डलाई तीन प्याकेज बनाएर बोलपत्र आवहान गरिएको थियो । यो तेस्रो प्याकेजमा पर्दछ । शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्डको स्तरोन्नतिको ठेक्का लिएको हो । यो सडक विश्व बैंकको सहयोगमा निर्माण भइरहको छ ।
काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रुपमा रहेको यो सडकमा सवारी चापका कारण काममा ढिलाई भएको निर्माण कम्पनीले जनाएको छ ।साथै कच्चापदार्थ र कामदार पाउन कठिन हुँदा काममा ढिलाइ भएको हो । यससँगै सुरुका वर्षमा डिजाइन परिवर्तन हुँदा ९ महिना ढिला काम सुरु भएको पोखरेलले बताउनुभयो । कम्पनीले ढेढ बर्षको समय थपका लागि माग गरिएको उहाँले जानकारी दिनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij