भरतपुर, चितवन : चितवन उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि दुई समूह चुनावी मैदानमा देखिएका छन्। संस्थापन समूहबाट वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी र संस्थापनबाहिरका निवर्तमान उपाध्यक्ष शिरीष पन्तले समूहको नेतृत्व गर्दै प्रतिस्पर्धा गर्ने भएका छन्।
सुवेदी समूहले वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओली, उपाध्यक्षहरुमा अशोक अधिकारी, नारायण प्रधान र राजन पिया लाई उम्मेदवार बनाउने टुङ्गो लगाइसकेको छ। ओली, अधिकारी र प्रधान अघिल्लो अधिवेशनमा पनि निर्वाचित भइसकेका पदाधिकारी हुन् भने राजन पिया भने अघिल्लो निर्वाचनमा सुवेदीसँग हारेर फर्केका थिए।
शिरीष पन्त समूहले पनि वरिष्ठ उपाध्यक्ष बाहेक अन्य पदाधिकारीमा टुङ्गो लगाइसकेको छ। उपाध्यक्षका उम्मेदवारहरुमा शङ्करप्रसाद घिमिरे, जनक पौडेल र गुणराज पौडेल समावेश छन्। पन्तले वरिष्ठ उपाध्यक्षको उम्मेदवारको नाम पनि छिट्टै सार्वजनिक हुने बताएका छन्।
संघको प्रत्येक दुई–दुई वर्षमा हुने अधिवेशन यस पटक रोचक हुने देखिएको छ। संस्थापन पक्षले सुवेदी समूहलाई अनुभवी मानिरहेको छ भने पन्त समूहले कार्यक्षमता र युवापुस्तालाई नेतृत्व दिन सक्ने सन्देश दिन खोजेको छ।
उम्मेदवारहरूले मतदाता भेटघाट र घरदैलो गर्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गरिरहेका छन्। सुवेदी समूहले आज मङ्गलबार पदाधिकारीसहित दियालो फुडल्यान्डमा उम्मेदवारी घोषणा गर्दैछ भने पन्त समूहले भोलि बुधबार घोषणा गर्ने तयारी गरेको छ। संघले मङ्सिर २१ गते नयाँ नेतृत्व चयनका लागि अधिवेशनको मिति तोकेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij