काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूको सञ्जाल तल्लो तहसम्म सक्रिय भएकाले उनीहरूमार्फत निर्वाचनको सन्देश प्रवाह गर्न सरकार सक्रिय भएको बताएका छन् । मंगलबार नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयको अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री सिन्हाले निर्वाचनको वातावरण अझ सुदृढ बनाउन सरकार राजनीतिक दलहरूलाई निर्वाचनको सन्देश तल्लो तहसम्म प्रभावकारी रूपमा प्रवाह गर्न आग्रह गरिएको पनि बताएका हुन् ।
उनले दलहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूको जिज्ञासा सङ्कलन गरी सरकारसमक्ष लैजाने जिम्मेवारी स्वरूप आफूहरू छलफल गरिरहेको समेत बताएका छन्। उनले सरकार र जेनजी युवा पुस्ता समेत निर्वाचन गर्नुपर्ने मनसायका साथ अगाडि बढिरहेको बताए ।
उनले जेनजी अगुवाहरूको माध्यमबाट विभिन्न मागहरू आउनु स्वाभाविक भएको पनि बताए । उनले भने, ‘प्रत्येक दलहरूको सम्पर्क तल्लो तहसम्म पनि भएको कारण उहाँहरूले एकपटक निर्वाचनको बारेमा बोलिदिनुभयो भने त्यो इको समेत तल्लो तहसम्म पुग्छ । त्यसो भएको हुनाले दलहरूको माध्यमबाट चुनावको वातावरण अझै बन्न सक्छ भन्ने कुराहरू हामीले उहाँहरूलाई भनेका छौँ । निर्वाचन आयोग र सरकारले समेत निर्वाचनको तयारीका लागि आयोजना गरेका छलफलहरूमा समेत सबै राजनीतिक दलहरूलाई बोलाउने गरेका थियौँ । अब हामी मुख्य राजनीतिक दलहरूको कार्यालयमै गएर उहाँहरूसँग छलफल गर्ने र उहाँहरूको जिज्ञासाहरू छन् भने ती जिज्ञासाहरूलाई सरकारसमक्ष लिएर जाने जिम्मेवारी लिएर हामी हिँडिरहेको अवस्था छ ।
भदौ २३, २४ को जुन दुभाग्र्यपूर्ण अवस्था आउनुमा धेरै आयामहरू छन् । सबै वर्गको संयुक्त आवाज लिएर उहाँहरूले आन्दोलनमा आउनुभएको अवस्था थियो । कुनै एउटा मात्र राजनीतिक दल भएको भए पनि एउटै कुरामा अडिग भएर बस्न सक्नुहुन्छ । तर जेनजी समूहहरूसँग हामी जुन छलफल गरिरहेका छौँ त्यसमा उनीहरूको विभिन्न मागहरू आउनु स्वाभाविक कुरा नै हो ।’ उनले सरकारले राजनीतिक दलहरूसँग संवाद गरी निर्वाचनको अनुकूल वातावरण निर्माण गर्न सक्रिय रहेको दोहोर्याए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij