काठमाडौँ : नेकपा एमालेले राजनीतिक दल तथा नेताहरूलाई निषेध गरेर निर्वाचनको वातावरण बन्न नसक्ने स्पष्ट पारेको छ।
मंगलबार पार्टी कार्यालय च्यासलमा सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिसँग भएको छलफलमा एमालेले नेताहरूलाई स्थान हद तोक्ने र राजनीतिक गतिविधिमा अवरोध गर्ने कार्यले स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्भव नहुने धारणा राखेको हो।
छलफलपछि एमाले उपमहासचिव रघुवीर महासेठले पार्टी निर्वाचनको विरोधी नभए पनि सरकारले नै आवश्यक वातावरण बनाउन नसकेको बताए। उनले एमालेलाई निर्वाचनमा सहभागी गराउन नचाहेकै कारण पार्टी अध्यक्षमाथि स्थान हद तोकिएको आरोप लगाए।
महासेठले पार्टी अध्यक्षमाथि लगाइएको स्थान हद कायम रहेसम्म एमाले निर्वाचनमा जान नसक्ने स्पष्ट पारे। निर्वाचनको वातावरण बनाउने दायित्व सरकारको भएको भन्दै उक्त निर्णय तत्काल हटाउन सरकारलाई सुझाव दिइएको जानकारी दिए।
यसैबीच उच्चस्तरीय राजनीतिक संवाद समितिका सदस्य तथा सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचन तयारीका विषयमा छलफल भएको र देश चुनावमय बन्दै गएको बताए। एमालेका नेताहरूले आवश्यक वातावरण बने निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएको उनले जानकारी दिए।
खरेलले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन गराउने प्रतिबद्धता सरकारको रहेको उल्लेख गर्दै कुनै पनि नेता वा कार्यकर्तालाई प्रचार–प्रसार र अभियानका क्रममा अवरोध नआउने सुनिश्चितता गरिने बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij