भरतपुर : पत्रकार अजय गोर्खालीको मृत्यु भएको दुई हप्तापछि पनि रहस्य समाधान हुन सकेको छैन। ३८ वर्षीय गोर्खालीको मृत्युबारे परिवार र नेपाल पत्रकार महासंघले प्रहरीको ध्यानाकर्षण गराएपछि जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान जारी राखेको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले घटनास्थल वरपरको अवस्था र प्रत्यक्षदर्शीको बयान संकलन सकिएको जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले, "बयान लिएका व्यक्तिहरूले कुनै प्रकारको अन्याय वा आक्रमणको घटना देख्नुभएको छैन। मृतकको शरीरमा चोटपटक देखिए पनि त्यहाँ आफ्नै कारणले चोट लागेको देखिन्छ," बताएका छन्।

प्रहरीका अनुसार टाउकोमा परेको चोट नै मृत्युको मुख्य कारण देखिएको छ, तर रगत परीक्षण प्रतिवेदन अझै आउन बाँकी छ। घटनापछि सार्वजनिक भएका सिसिटिभी फुटेजमा कसैले लखेटेर वा कुटपिट गरेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको थियो।

नेपाल पत्रकार महासंघ चितवनको पहलमा उपाध्यक्ष शान्ता अधिकारीको संयोजकत्वमा अध्ययन समिति गठन भएको छ। समितिले अनुसन्धानमा सहयोग गर्दै सत्यतथ्य पत्ता लगाउने काम गरिरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij