Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चितवन राष्ट्रिय निकुञ्जका गाइडलाई वाइल्डरनेस फस्ट एड तालिम

चितवन राष्ट्रिय निकुञ्जका गाइडलाई वाइल्डरनेस फस्ट एड तालिम

चितवन : चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा कार्यरत प्रकृति तथा जंगल–सफारी गाइडहरूको सुरक्षा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वाइल्डरनेस फस्ट एड तालिम प्रदान गरिएको छ।

नेपाल पर्यटन बोर्ड (NTB) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (STP) अन्तर्गत आयोजित उक्त तालिम हिमालयन मेडिक्सको सहकार्य तथा नेचर गाइड एसोसिएसन, चितवन राष्ट्रिय निकुञ्जको समन्वयमा सम्पन्न भएको हो।

तालिममा चितवन राष्ट्रिय निकुञ्ज आसपास कार्यरत २४ जना जंगल–सफारी तथा प्रकृति गाइडहरूको सहभागिता रहेको थियो। पुस ७ र ८ गते सञ्चालन गरिएको दुईदिने तालिममा आकस्मिक दुर्घटना, वन्यजन्तु आक्रमण, सर्पदंश, चोटपटक, अत्यधिक गर्मी वा चिसोका कारण उत्पन्न स्वास्थ्य समस्या, प्राथमिक उपचार, सीपीआर, घाइतेको सुरक्षित स्थानान्तरणलगायत विषयमा व्यावहारिक अभ्याससहित प्रशिक्षण दिइएको थियो।

तालिमका मुख्य प्रशिक्षक अजय नरसिंह राणाले जङ्गल, नदी तथा दुर्गम क्षेत्रमा हुन सक्ने आकस्मिक स्वास्थ्य आपतकालीन अवस्थालाई ध्यानमा राख्दै गाइडहरूलाई तत्काल प्रतिक्रिया दिन सक्ने सीप अत्यन्त आवश्यक रहेको बताए। “पर्यटक सुरक्षामा गाइडको भूमिका पहिलो र निर्णायक हुन्छ, यस्ता तालिमले आपत्कालीन अवस्थामा जीवन जोगाउन महत्वपूर्ण योगदान पुर्‍याउँछ,” उनले भने।

चितवन राष्ट्रिय निकुञ्ज नेपालका प्रमुख प्रकृति तथा वन्यजन्तु पर्यटन गन्तव्यमध्ये एक हो, जहाँ हरेक वर्ष ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन्। सुरक्षित, उत्तरदायी र व्यावसायिक पर्यटन प्रवर्द्धनका लागि गाइडहरूको क्षमता अभिवृद्धि अपरिहार्य रहेको दिगो पर्यटन परियोजना प्रबन्धक धर्मराज दवाडीले बताए।

उनले भने, “यस तालिमले पर्यटक सुरक्षामा सुधार ल्याउनुका साथै स्थानीय गाइडहरूको व्यावसायिकता, आत्मविश्वास र अन्तर्राष्ट्रिय स्तरको सेवा गुणस्तर बढ्ने विश्वास लिएको छु।” आगामी दिनमा यस्ता तालिमलाई अन्य संरक्षित क्षेत्रहरूमा पनि विस्तार गर्ने तयारी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट