चितवन : नारायणी नदी किनारमा सम्पन्न खेलकुद तथा व्यापार महोत्सवपछि फोहोर राति जलाइएको घटनामा दोषीमाथि कारबाही गर्न माग गर्दै जेन्जी समूह चितवन र बेटर चितवनले भरतपुर महानगरपालिकालाई ४८ घण्टे अल्टिमेटम दिएका छन्।
घटना भएको २८ दिन बितिसक्दा पनि महानगरले कुनै ठोस कारबाही नगरेकाले पुनः चेतावनी पत्र बुझाउन बाध्य भएको जेन्जी समूह चितवनका आशिष सापकोटाले जानकारी दिनुभयो।
उहाँका अनुसार ४८ घण्टे अल्टिमेटम पत्रमा पाँच प्रमुख मागहरू राखिएका छन्। महोत्सवका आयोजक, सम्बन्धित ठेकदार तथा जिम्मेवार पदाधिकारीमाथि फोहोरमैला व्यवस्थापन ऐन, वातावरण संरक्षण ऐन, स्थानीय सरकार सञ्चालन ऐन तथा सर्वोच्च अदालतका आदेशअनुसार तत्काल कारबाही गर्न माग गरिएको छ। साथै फोहोर जलाउने कार्यमा संलग्न व्यक्ति तथा संस्थामाथि दण्ड–जरिवाना र क्षतिपूर्ति असुलीको निर्णय कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ।
त्यस्तै, उक्त घटनाबाट नारायणी आसपासको क्षेत्रमा भएको वातावरणीय क्षतिको मूल्याङ्कन गरी सरसफाइ तथा पुनःस्थापना कार्य आयोजकबाटै गराउनुपर्ने मागपत्रमा उल्लेख छ।
बेटर चितवन र जेन्जी समूह चितवनले संयुक्त रूपमा आज भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेललाई चेतावनी पत्र बुझाएको बेटर चितवनका संस्थापक सागर कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार भविष्यमा यस्ता महोत्सव वा ठूला कार्यक्रमका लागि अनिवार्य फोहोर तथा वातावरण व्यवस्थापन योजना पूर्ण कार्यान्वयन नगरेसम्म अनुमति नदिने कडा प्रशासनिक व्यवस्था लागू गर्न माग गरिएको छ। साथै नदी किनार क्षेत्रमा फोहोर फाल्ने वा जलाउने कार्यमा संलग्न जोसुकैमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरी कारबाही गर्न स्पष्ट निर्देशन जारी गर्न पनि माग गरिएको छ।
मागपत्र सम्बोधन नभए उपल्लो निकायमा मुद्दा दर्ता गर्ने चेतावनीसमेत समूहले दिएको छ। यसअघि पनि गत मङ्सिर ८ गते दोषीलाई कारबाही गर्न माग गर्दै महानगरलाई पत्र बुझाइएको थियो। त्यतिबेला प्रमुख प्रशासकीय अधिकृत पौडेलले छानबिन गरी कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।
आज घटनाको २८ औँ दिनमा पुनः भेटघाटका क्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले पुस ९ गते बेलुका ५ बजेसम्म दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता दोहोर्याउनुभयो। “पूर्वाग्रह राखेर कारबाही गरियो भन्ने नपरोस् भनेर केही समय लिएका हौँ,” उहाँले भन्नुभयो, “नगरसभा सम्पन्न भएलगत्तै यस विषयमा एक्सन लिन्छौँ।”
तर समूहले कारबाही नभए यसलाई पर्यावरण अपराधको रूपमा ठहर गर्दै महानगरको कार्यालय अगाडि धर्ना बस्ने चेतावनी दिएको छ। “कारबाही नभए सिर्जनात्मक ढंगले विरोधका कार्यक्रम गर्छौँ, आवश्यक परे उपल्लो निकायसम्म पुगेर दोषीलाई कारबाही गराएरै छाड्छौँ,” समूहका एक सदस्यले बताएका छन्।
छलफलका क्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले भविष्यमा नारायणी किनारमा मेला–महोत्सव गर्न नदिने र वैकल्पिक स्थानमा मात्रै अनुमति दिने नीति नगरसभाबाट ल्याउन पहल भइरहेको जानकारी दिनुभयो।
चितवन जिल्ला खेलकुद विकास समितिको आयोजनामा गत कात्तिक १८ देखि मंसिर २ गतेसम्म नारायणी किनारमा आयोजित महोत्सव सकिएलगत्तै राति फोहोर जलाइएको थियो।
महानगरको फोहोर संकलन ठेक्का पाएको संस्थाका केशव नेपालले आयोजकसँग फोहोर व्यवस्थापनबारे कुनै पूर्व सम्झौता नभएको बताएका छन्। उहाँका अनुसार आफूहरूले ४ लाख रुपैयाँमा फोहोर उठाउने प्रस्ताव गरे पनि सहमति नभएपछि प्रति ट्रिप २.५ घनमिटर फोहोरको ३ हजार रुपैयाँ दर प्रस्ताव गरिएको थियो, तर आयोजकसँग कुनै सम्झौता हुन सकेन।
यस विषयमा आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले भने सञ्चारमाध्यममा समाचार आएपछि मात्रै घटनाबारे जानकारी पाएको दाबी गर्दै फोहोर जलाउने कार्यमा आफूहरूको संलग्नता नरहेको उल्लेख गर्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij