Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

ईश्वर समूहले छुट्टै भेला गरेकोमा प्रदीप ज्ञवालीको असन्तुष्टि

ईश्वर समूहले छुट्टै भेला गरेकोमा प्रदीप ज्ञवालीको असन्तुष्टि

काठमाडौँ :  नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले पार्टीको महाधिवेशन सम्पन्न भएलगत्तै ईश्वर पोखरेल पक्षले छुट्टै भेला गरेकोप्रति असन्तुष्टि जनाएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता ज्ञवालीले महाधिवेशनपछिका केही दृश्यले ‘आँखा बिझाएको’ टिप्पणी गरेका हुन् ।

नेता ज्ञवालीले महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएको स्मरण गराउँदै त्यसको फैसलालाई अन्तिम नमान्ने हो भने पार्टी ‘अन्त्यहीन बहस क्लब’ मा रूपान्तरित हुने चेतावनी दिएका छन् ।

केही नेताहरुले नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि प्रश्न उठाएका कारण नै एक वर्ष अगावै महाधिवेशन आयोजना गरिएको उल्लेख गर्दै उनले भनेका छन्, 'महाधिवेशनले ती प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिएर नेतृत्वलाई पुनः अनुमोदित गरेको छ ।'अब पनि महाधिवेशन पूर्वकै ‘ब्यागेज’ बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ‘प्रतिवाद’ र ‘खोक्रो एकता’ जस्ता गतिविधिमा लाग्नुको कुनै अर्थ नभएको उनको तर्क छ ।

तीन महिनाको छोटो अवधिमा पार्टीलाई लयमा फर्काएको दाबी गर्दै ज्ञवालीले अबको सम्पूर्ण ऊर्जा लोकतन्त्र बहाली, संविधान रक्षा, स्थिरता, सुशासन र समृद्धिको यात्रामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

यसैगरी, नेता ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजतन्त्र पुनर्स्थापना हुन सक्ने आशयको अभिव्यक्ति दिएको भन्दै आश्चर्य प्रकट गरेका छन् । 'पूर्व राष्ट्रपतिज्यूले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो,' ज्ञवालीले लेखेका छन्, 'आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला?'

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट