Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

थ्री एन्जल्स नेपाल चितवनद्वारा एक वर्षदेखि बेपत्ता किशोरीको उद्धार,लगाईयो परिवारको जिम्मा

थ्री एन्जल्स नेपाल चितवनद्वारा एक वर्षदेखि बेपत्ता किशोरीको उद्धार,लगाईयो परिवारको जिम्मा

राप्ती :  पुर्विचितवनको राप्तिमा रहेको थ्री एन्जल्स नेपाल चितवन शाखाले एक वर्षदेखि वेपत्ता रहेकी एक किशोरीको उद्धार गरेको छ।कालिका नगरपालिका स्थायी ठेगाना भएकी १८ वर्षीया अस्मिता (नाम परिवर्तन) एक वर्षदेखि घरपरिवारसँग सम्पर्कविहीन अवस्थामा रहेकी थिइन्।

गत बिहीवार थ्री एन्जल्स नेपाल चितवन शाखाले उनलाई उद्धार गरी परिवारको जिम्मा लगाएको हो।बिहीबार दिउँसो करिब ३ बजे नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा राप्ती नगरपालिका–१ लोथरबाट अन्दाजी २७/२८ वर्षको एक युवकसँगै उक्त किशोरी यात्रा गरिरहेको अवस्थामा भेटिएकी थिइन्।शंकास्पद अवस्थालाई ध्यानमा राख्दै थ्री एन्जल्स नेपाल चितवन शाखाको टोलीले किशोरीलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएको थियो।

थ्री एन्जल्स नेपाल चितवन शाखाकी प्रमुख सुनिता सिल्वालका अनुसार, किशोरीलाई इलाका प्रहरी कार्यालय भण्डाराको रोहवरमा राखी आवश्यक सोधपुछ गरिएको थियो। त्यस लगत्तै सो किशोरीकी आमासँग सम्पर्क गरी कानुनी प्रक्रिया पूरा गर्दै परिवारलाई जिम्मा लगाइएको हो।

सो क्रममा किशोरीसँगै रहेका पुरुष भने उक्त स्थानबाट फरार भएको र उनको खोजी तथा आवश्यक अनुसन्धानका लागि प्रहरीलाई जानकारी गराइएको प्रमुख सिल्वालले बताउनुभयो।

थ्री एन्जल्स नेपाल चितवन शाखाले पछिल्लो समय मानव बेचबिखन, ओसारपसार तथा बेपत्ता महिला, बालबालिका र बेवारिसे व्यक्तिहरूको उद्धारलाई प्राथमिकतामा राख्दै सक्रिय भूमिका खेल्दै आएको छ।

सो संस्थाले समुदायस्तरमै निगरानी बढाई जोखिममा परेका व्यक्तिहरूलाई सुरक्षित गर्न र परिवारसँग पुनर्मिलन गराउन निरन्तर पहल गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट