हेटौँडा, मकवानपुर : हेटौँडा सडक विस्तारविरुद्ध दायर गरिएको रिटको आजको पेसी हेर्न नमिलेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा आइतबार तोकिएको पेसीमा दुवै पक्ष उपस्थित हुन सकेनन्।
राजमार्ग क्षेत्रमा २५/२५ मिटर सडक कायम गर्नुपर्ने माग गर्दै विन्दवासिनी कंसाकारसहित ६ जनाले मंसिर १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक विभाग, सहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विपक्षी बनाइएका थिए।
मंसिर १९ मा न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षी पक्षलाई कारण देखाउन आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो। सो आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो।
त्यसपछि मंसिर २६ मा न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले मुद्दा सम्बन्धी मिसिल झिक्ने र पुस २ मा छलफल गर्ने गरी पेसी तोकेको थियो। तर, पुस २ को पेसी न्यायाधीश तिलप्रसाद श्रेष्ठ र सुनिल कुमार पोखरेलको इजलासमा तोकिए पनि हेर्न नमिल्ने सूचीमा परेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij