Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नवलपरासी–१ बाट विनोद चौधरीको एकल सिफारिस

नवलपरासी–१ बाट विनोद चौधरीको एकल सिफारिस

नवलपरासी :    आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले नवलपरासी–१ बाट विनोद चौधरीको नाम सिफारिस गरेको छ । कांग्रेस केन्द्रको परिपत्र अनुसार क्षेत्रीय कार्यसमिति, जिल्ला हुँदै लुम्बिनी प्रदेश कार्यसमितिले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा कांग्रेसबाट चौधरीको एकल नाम सिफारिस गरेको हो ।

कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाहरूबाट सिफारिस भएका नामहरू आवश्यक सुझावसहित केन्द्रमा पठाउने निर्णय गरेको हो । तर नवलपरासी–१ बाट भने चौधरीको एकल नाम केन्द्रमा पठाउने निर्णय भएको प्रदेश सभापति अमरसिंह पुनले बताए ।

उनका अनुसार जिल्लाबाट चौधरीसँगै अर्का नेता विक्रम खनालको नाम पनि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सिफारिस भएको थियो । तर पार्टीले साधारण सदस्य नै नरहने गरी कारबाही गरेकाले खनालको नाम केन्द्रमा नपठाइएको पुनले बताए । खनाल कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमिति महामन्त्री थिए । पार्टीको कारबाहीसँगै उनको जिम्मेवारी खोसिएको थियो ।लुम्बिनी प्रदेश कार्यसमितिको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेस जिल्ला क्षेत्र नं. १ को कार्यसमितिबाट आएको सिफारिसमा नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिबाट कारबाहीमा परेका विक्रम खनालको बारेमा उल्लेख गरिएको हुँदा सिफारिस गर्न नमिल्ने अवस्थामा जिल्ला कार्यसमितिबाट सिफारिस भई आएकोमा उक्त व्यक्ति कारबाहीमा परेको हुँदा सिफारिस नगरिएको व्यहोरो अनुरोध गर्दछु ।’

नवलपरासी-१ बाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चौधरी कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । क्षेत्रीय समितिले चौधरीको एकल नाम सर्वसम्मत सिफारिस गर्न खोज्दा खनाल पक्षधर केही नेताहरूले चौधरीसँगै खनालको नाम पनि सिफारिस गरेका थिए ।जिल्ला कार्यसमितिले क्षेत्रीय समितिको सिफारिसलाई प्रदेश कार्यसमितिमा पठाएको थियो । बैठकमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसहित प्रदेश जिल्ला सभापतिहरूसमेत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट