Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

मधेसीले नै संघीयता जोगाए – सीके राउत

मधेसीले नै संघीयता जोगाए – सीके राउत

काठमाडौँ  :  जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेनजी आन्दोलनपछि मुलुकको संघीयता र संसदीय व्यवस्थामाथि प्रहार हुन थालेको भए पनि मधेसी समुदायकै कारण त्यो जोगिएको दाबी गरेका छन् ।

मधेस एकता समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘परिवर्तनशील समयमा मधेस’ विषयक विचार मन्थन कार्यक्रममा राउतले बदलिएको राजनीतिक परिस्थितिमा मधेसको अस्तित्व र स्थान कहाँ छ भनी आफूहरूले खोजी गरिरहेको पनि बताए ।

कार्यक्रममा राउतले जेनजी आन्दोलनपछि आफूले मधेसको मुद्दा र स्थानबारे प्रश्न उठाउँदा एक शीर्ष जेनजी नेताले आफूलाई धम्की दिएको पनि खुलासा गरे । 'जेनजी आन्दोलनपछि मैले मधेस खोज्न थालेपछि एक शीर्ष जेनजी नेताले मलाई धम्की दिए,' उनले भने ।

आन्दोलनपछि आफू र आफ्नो पार्टीका सांसदहरूले राजीनामा दिएको स्मरण गर्दै उनले पछि संघीयता र संसदीय व्यवस्थामाथि नै प्रहार हुन थालेको पाएपछि आफूहरू झस्किएको बताए । मधेसबाट आवाज नउठेको भए यो परिवर्तनपछि संघीयता नै समाप्त हुने खतरा रहेको तर मधेसले त्यसलाई रोकेको उनको दाबी छ ।

मधेसले पहिचान र अधिकार सित्तैमा नपाएको उल्लेख गर्दै राउतले यसका लागि धेरैले बलिदानी दिएका बताए । समानुपातिक निर्वाचन प्रणालीकै कारण आज मधेसका दलित, मुस्लिम र जनजातिहरू संसद्‌सम्म पुग्न सफल भएका र आरक्षणको व्यवस्थाले उत्पीडित समुदायले राज्यको मूलधारमा ठाउँ पाएको उल्लेख गरे ।

डा. राउतले आन्दोलनपछिको शक्ति सन्तुलनमा नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाए । 'नेपाली सेनाले देशको राजनीति आफ्नो हातमा लिएर सम्झौता गर्दा मधेसले किन कुनै ठाउँ पाएन ? उनले प्रश्न गरे,'सेनाले मधेसीलाई किन प्रधानमन्त्री बनाएन ?'

यद्यपि, पछिल्लो समय जेनजीले गरेको सम्झौतामा मधेसी, थारू र आदिवासी जनजातिका सवालहरूलाई सम्बोधन गर्ने प्रयास गरिएको भन्दै उनले त्यसलाई सकारात्मक रूपमा लिइएको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट