काठमाडौँ : नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको ११ औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण नबनेको भन्दै नेतृत्वप्रति असन्तुष्टि पोखेका छन्। ईश्वर पोखरेल समूहले आयोजना गरेको समीक्षा भेलापछि सञ्चारकर्मीसँग बोल्दै उनले महाधिवेशनका क्रममा प्रतिनिधि छनोटदेखि बन्दसत्र र निर्वाचनसम्म नै पार्टी संरचनाको चरम दुरुपयोग भएको आरोप लगाएका हुन्।
संगठन विभाग लगायतका निकायहरूलाई प्रयोग गरेर आन्तरिक लोकतन्त्रलाई अस्वस्थ बनाइएको भन्दै उनले यसले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि नै गम्भीर प्रश्न खडा गरेको टिप्पणी गरे। लोकतान्त्रिक प्रक्रियामा सहभागी भएपछि मतपरिणामलाई सहजै स्वीकार गर्ने बताए पनि भट्टराईले पार्टीभित्रको वैचारिक लडाइँ नरोकिने प्रस्ट पारे।
‘हाम्रो लाइन न त विभाजन हो, न त आत्मसमर्पण, बरु पार्टीभित्रै रहेर गरिने निरन्तर संघर्ष हो,’ उनले भने। अध्यक्ष केपी शर्मा ओलीका सकारात्मक प्रस्तावहरूलाई समर्थन गर्ने तर पार्टीमा काखा र पाखा गर्ने, गुटबन्दी गर्ने वा कसैको मानमर्दन हुने गरी पक्षपातपूर्ण व्यवहार भएमा त्यसको कडा प्रतिवाद गर्ने चेतावनी उनले दिएका छन्।
भट्टराईले आगामी निर्वाचन र बाह्य प्रतिस्पर्धामा भने पार्टीलाई जिताउन आफूहरू एकजुट भएर लाग्ने प्रतिबद्धता जनाए। पार्टीभित्र कुनै 'अराजनीतिक बार्गेनिङ' नगर्ने तर सामूहिक निर्णय र नेतृत्व हस्तान्तरणको एजेन्डालाई भने नछोड्ने उनको जिकिर छ।
महाधिवेशनमा आफ्नो पक्षले सोचे जस्तो सफलता नपाउनुको कारणबारे पुस २६ देखि २८ गतेसम्म बस्ने केन्द्रीय कमिटी बैठकमा समीक्षा गरिने उनले जानकारी दिए। निर्वाचनमा पराजित भएका नेताहरूलाई विचलित नभई पार्टी निर्माणमा लाग्न आग्रह गर्दै उनले ओलीको कार्यशैलीमा अझै परिवर्तन नआएको गुनासो समेत गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij