Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

जेनजी आन्दोलनले मधेसलाई बिर्सियो – विश्लेषक साह

जेनजी आन्दोलनले मधेसलाई बिर्सियो – विश्लेषक साह

काठमाडौँ : राजनीतिक विश्लेषक तुलानारायण साहले पछिल्लो समय चर्चामा रहेको जेनजी आन्दोलनले मधेसका मुद्दालाई पूर्णतः ओझेलमा पारेको टिप्पणी गरेका छन् । मधेस एकता समाजद्वारा शनिबार काठमाडौँमा आयोजित ‘परिवर्तन समयमा मधेस’ विषयक विचार मन्थन कार्यक्रममा साहले हरेक राजनीतिक आन्दोलनले राज्यसँग कुनै न कुनै विन्दुमा सम्झौता गर्ने गरे पनि मधेसको सवालमा भने सधैँ गौण राखिने गरेको बताए ।

विश्लेषक साहले जेनजी आन्दोलनको चरित्र र यसको प्रभावबारे चर्चा गर्दै भने, 'हरेक आन्दोलनको एउटा निश्चित नेता हुन्छ, तर जेनजी आन्दोलन नेतृत्वविहीन जस्तो देखियो । यसको मुख्य एजेन्डा सुशासन र पुस्तान्तरण भनिए पनि ती एजेन्डामा मधेस कतै अटाउन सकेन ।' उनले जेनजी आन्दोलनपछि देशका अन्य क्षेत्रमा पुस्तान्तरणको कुरा उठे पनि मधेस केन्द्रित दलहरूमा भने यसको कुनै प्रभाव नदेखिएको र पुस्तान्तरणको बहस समेत नचलेको औँल्याए ।

मधेस आन्दोलनको मुख्य उद्देश्य काठमाडौँमा आफ्नो राजनीतिक 'स्पेस' खोज्नु मात्र रहेको चर्चा गर्दै उनले अहिलेको बदलिँदो परिस्थितिमा मधेसले आफ्नो पहिचान र अधिकारका लागि थप संघर्ष गर्नुपर्ने बताए । जेनजी आन्दोलनपछिको राजनीतिक समझदारीमा मधेस कतै नदेखिनुले यो समुदायले केही पनि नपाएको उनको दाबी छ ।

संघीयताको भविष्यप्रति आशंका व्यक्त गर्दै साहले भने, 'यो आन्दोलनको एउटा लुकेको एजेन्डा भनेको संघीयता खर्चिलो भयो भन्दै यसलाई कमजोर बनाउनु थियो । यदि मधेसमा यसको प्रतिवाद नभएको भए संघीयता नै धरापमा पर्ने अवस्था आउन सक्थ्यो ।'

अहिलेको समयमा मधेसका लागि सबैभन्दा ठुलो चुनौती नै प्राप्त भइसकेका अधिकार र संघीयतालाई सुरक्षित राख्नु रहेको उनले बताए । कार्यक्रममा मधेसको वर्तमान राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे विभिन्न क्षेत्रका व्यक्तिहरूले समेत धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट