काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभाको आयोजना गरेको छ । भृकुटीमण्डपमा आयोजना हुने सभामा ५० हजार मानिस सहभागी हुने सो पार्टीको दाबी छ ।
बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुन लागेको सभामा करिब ५० हजार मानिस सहभागी हुने अपेक्षा गरिएको नेता रामकुमार भट्टराईले जानकारी दिए ।भट्टराईको अनुसार बिहान ११ः३० बजे सुनधारा, नयाँ सडक चोक र शान्ति बाटिकामा जुलुस जम्मा हुनेछन् । सबै जना एकीकृत भएपछि दिउँसो सवा १२ बजेबाट जुलुस सुरु हुने उनले बताए ।
‘सन्देश सभामा ५० हजार मानिस आउने हाम्रो अपेक्षा छ । जुलुसको नेतृत्व दोस्रो तहले गर्नुहुन्छ । सुनधारा, नयाँ सडक चेक र शान्ति बाटिकामा मानिस भेला हुनेछन् । त्यसपछि बागबजार, पुतली सडक, पद्मदय मोड हुँदैन भृकुटीमण्डमा पुगेर सभामा परिणत हुनेछ’, उनले भने ।
शीर्ष नेताहरू जुलुसमा सहभागी नभई सिधै मञ्चमा प्रवेश गर्ने भट्टराईले बताए । सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावल लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभा भृकुटीमण्डपको तीनकुने सडकमा हुनेछ ।कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वटा वामपन्थी घटक मिलेर नेकपा बनाएका थिए ।पार्टी एकता सन्देश दिनका लागि नेकपाले मंसिर १२ गतेदेखि सातै प्रदेशमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै आएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij