Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

एमाले महाधिवेशनअघि वरिष्ठ उपाध्यक्ष पोखरेलको २५ बुँदे अवधारणा-पत्र

एमाले महाधिवेशनअघि वरिष्ठ उपाध्यक्ष पोखरेलको २५ बुँदे अवधारणा-पत्र

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आन्तरिक जीवन र अन्तरपार्टी जनवादलाई मजबुत बनाउने उद्देश्यले २५ बुँदे योजना अघि सारेका छन्। मङ्सिर २७ देखि २९ सम्म हुने एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा पोखरेलले आफ्नो अवधारणा-पत्र प्रस्तुत गर्ने तयारी गरेका हुन्।

पोखरेलको अवधारणा-पत्रमा भनिएको छ, “‘अन्तरपार्टी जनवाद र पार्टी जीवनको लोकतान्त्रिकरण’ भनेको कुनै पनि निर्णय लिनुअघि खुला बहस र छलफल गर्ने, मत राख्ने, असहमति दर्ज गर्ने, मतदान प्रक्रिया अवलम्बन गर्ने, अल्पमत–बहुमतको आधारमा निर्णयमा पुग्ने, र निर्णय गरिसकेपछि सबैले पालना गर्ने पद्धति हो। यसले पार्टीमा जनवादी प्रक्रिया कायम गर्न मद्दत पुर्‍याउँछ।”

उनले यसै क्रममा मार्क्सवादी दृष्टिकोणअनुसार काम कारबाहीमा विविधता हुनु आवश्यक रहेको उल्लेख गर्दै प्रतिस्पर्धा र बहसको माध्यमबाट पार्टी नेतृत्व विकास हुने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रिक बनाउँदै गतिशीलता र पारदर्शिता कायम राख्न यही पद्धति आवश्यक छ।

पोखरेलले अवधारणा-पत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सातौँ, आठौँ र नवौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेका लोकतान्त्रिक अभ्यासलाई केन्द्रदेखि स्थानीय तहसम्म नयाँ सन्दर्भमा परिमार्जन गरी लागू गर्नुपर्नेमा जोड दिएका छन्। उनी भन्छन्, “पार्टीका पदाधिकारीहरूको कार्यकाल दुई कार्यकालसम्म सीमित हुनु आवश्यक छ। जिम्मेवारी अनुसार कार्यसम्पादन, र कार्यसम्पादन अनुसार मूल्याङ्कन गर्ने प्रणाली अपनाउनु पर्छ।”

संसदीय फाँटका उम्मेदवार चयनमा पार्टी सदस्य र आम नागरिकको अभिमतलाई ध्यानमा राख्नुपर्ने भन्दै पोखरेलले समानुपातिक उम्मेदवार चयनमा श्रमिक वर्गीय पक्षधरता, विषय विज्ञता, पार्टीप्रतिको प्रतिबद्धता, स्वच्छ छवि र आचरणलाई आधार मानेर स्पष्ट मापदण्ड लागू गर्नुपर्ने बताए।

“पार्टीका तहगत अधिवेशन र जनसङ्गठनका अधिवेशनमा उच्चतम सहमति खोज्ने क्रममा प्रतिस्पर्धालाई मर्यादित, स्वच्छ र पारदर्शी बनाउनु आवश्यक छ,” उनले आफ्नो अवधारणा-पत्रमा उल्लेख गरेका छन्।

एमालेको नेतृत्व चयनका लागि आगामी ११औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७ देखि २९ सम्म हुने भएको छ। उक्त महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पोखरेल र अध्यक्ष केपी शर्मा ओलीबीच नेतृत्वका लागि प्रत्यक्ष प्रतिस्पर्धा हुने निश्चित देखिन्छ।

  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट