सर्लाही : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
नेपाल प्रेस युनियन सर्लाहीले शनिबार मलङ्गवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री थापाले भने, “यो पटक पार्टीका साथीहरुले नयाँ नीति, नयाँ सन्देशसँगै नयाँ नेतृत्व छान्नुहुन्छ भन्नेमा म विश्वस्त छु। १५ औँ महाधिवेशनमा म सभापतिको प्रत्यासी हुँ।”
थापाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअघि नै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था बनेको जानकारी दिनुभयो। “बिचको केही समय छलफल र बहसमा खेर फाले पनि अब छोटो समयमा महाधिवेशन सम्पन्न गरेर फागुन २१ को निर्वाचनमा भाग लिनुपर्ने निर्णय भएको छ,” उहाँले भन्नुभयो।
महामन्त्री थापाले वर्तमान सरकारले फागुन २१ मा निर्वाचन गराउने विश्वास व्यक्त गर्दै चुनावले संविधानमाथिको क्षति थप बढ्न नदिने दाबी गर्नुभयो। “नेपाली कांग्रेसको तर्फबाट हामी पूर्ण रूपमा निर्वाचनमा प्रतिवद्ध छौँ,” उहाँले थप्नुभयो।
थापाले जेनजी आन्दोलनपछि फरार रहेका कैदीबन्दी र लुटिएका हतियार चुनावका लागि चुनौती हुन सक्ने कुरा सरकारलाई अवगत गराइएको जानकारी पनि दिनुभयो। साथै, सबै समूह र राजनीतिक दलले निर्वाचनमा भाग लिन पाउनु पर्ने माग प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वदलिय बैठकमा उठाइएको थियो।
महामन्त्री थापाले यो पटक काठमाडौँबाटै चुनाव लड्ने जानकारी दिनुभयो। यसअघि सर्लाही क्षेत्र नं. ४ बाट चुनाव लड्न प्रस्ताव आए पनि पार्टी परम्परा अनुसार आफ्नो हालको निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने निर्णय भएको उहाँले बताउनुभयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij