काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूको संयुक्त बैठकले निर्वाचनको वातावरण थप बलियो बनेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वपक्षीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले यो संयुक्त बैठक उपलब्धिपूर्ण रहेको र यसले निर्वाचनको माहोल तयार गरेको उल्लेख गरे।
सञ्चारमन्त्री खरेलले भने, “संयुक्त बैठकपछि निर्वाचनमा जाने बाटो अझ बलियो बनेको छ। निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरणको सुनिश्चित भएको छ।”
यसअघिका बैठकहरू द्विपक्षीय र त्रिपक्षीय मात्र हुँदै आएकामा निर्वाचनसँग सरोकार भएका सबै सरोकारवालासँग एकै थलोमा भएको छलफलले निर्वाचनको माहोल बनेको उनको भनाइ छ।
मन्त्री खरेलले सरकारका तर्फबाट संयुक्त सुरक्षाको कार्ययोजना र रणनीति तयार गरी कार्यान्वयनको चरणमा रहेको जानकारी दिए। सोही रणनीतिमा केन्द्रित रहेर सम्भावित सुरक्षा चुनौती र व्यवस्थापकीय सरोकारबारे गहन ढङ्गले छलफल भएको उनले बताए।
उनले विगतका निर्वाचनहरूमा देखिएका 'फेक न्यूज', 'मिस इन्फर्मेसन', 'डिसइन्फर्मेसन' जस्ता चुनौतीहरूका बारेमा पनि खुलेर कुराकानी भएको बताए। “यी सवालमा सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा चुनौतीको सामना गर्ने तयारी तथा निर्वाचनको सुरक्षाको सम्पूर्ण वातावरण बनाउन सरकारको प्रतिबद्धता पनि आएको छ,” उनले भने। केही दलले सुरक्षालगायतको वातावरण बनाउन चासो देखाएकाले सरकार त्यसप्रति सचेत रहेको उनको भनाइ छ।मन्त्री खरेलले पछिल्लो समय सरकारले निर्वाचनको वातावरणका लागि संवादलाई निरन्तरता दिएको, जनता उत्साहित भएको र राजनीतिक दलहरू पनि निर्वाचनको माहोल बनाउन केन्द्रित रहेको बताए।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले जेनजी सहिद र घाइते परिवारको सरोकारका विषयलाई विशेष प्राथमिकता दिएको उल्लेख गरे। आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको सन्दर्भमा आज सरकार, प्रमुख राजनीतिक दलहरू, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूबीच संयुक्त बैठक भएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij