काठमाडौं : ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो नगरपालिकाले सबै नगरपालिकाभन्दा उत्कृष्ट काम गरेको दाबी गरेका छन्।
२२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसरमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मेयर महर्जनले आफूले गरेका सबै प्रतिवद्धता पूरा भएको दाबीसमेत गरे।
उनले बताएअनुसार, उत्कृष्ट काम गरेको कारण ललितपुर महानगरपालिकाले हरेक वर्ष २–३ वटा राष्ट्रियस्तरका पुरस्कार पाउने गरेको छ। मेयर महर्जनले मातहतका निकायहरूको योगदानलाई पनि यसको सफलतामा महत्त्वपूर्ण ठहराए।
मेयर महर्जनले भने, “हामीले गरेका कामको स्तरको मूल्यांकन हामीले आफैँ गरेको होइन। तर नेपालभरका दाजुभाइ, दिदीबहिनीहरू ललितपुर महानगरपालिकाबारे जान्दछन् – यो एक उत्कृष्ट कार्य गर्ने पालिका हो। स्वास्थ्य क्षेत्रमा गरेको योगदानका लागि म यहाँको क्रेडिट दिन चाहन्छु। चुनाव जितेर आएका हामीलाई स्वास्थ्य क्षेत्रमा विशेषज्ञता छैन, तपाईंहरूले दिएका सुझाव र सल्लाह अनुसार हामी कार्यान्वयन गर्छौं।
हामी प्रत्येक वर्ष २–३ वटा राष्ट्रियस्तरको पुरस्कार प्राप्त गर्दै आएका छौँ। भर्खरै संघीय सरकारले अपांगता क्षेत्रमा सबै नगरपालिकाभन्दा उत्कृष्ट कार्य गरेको भन्दै हामीलाई पुरस्कृत गरेको छ। यो सबै टिमवर्कको परिणाम हो। हामी जे बोल्छौं, त्यो पूरा गर्छौं। यहाँहरूको योगदानको लागि म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij