Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नागरिक उड्डयन प्राधिकरणको निमित्त नेतृत्व कनिष्ठलाई दिन चलखेल, चर्चामा तीन जना

नागरिक उड्डयन प्राधिकरणको निमित्त नेतृत्व कनिष्ठलाई दिन चलखेल, चर्चामा तीन जना

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणमा निमित्त महानिर्देशक को हुने भन्ने चर्चाबिच कनिष्ठ कर्मचारीलाई जिम्मेवारी दिने तयारी सुरु भएको छ। प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा वरिष्ठतम् कर्मचारीलाई छाडेर वैकल्पिक नामबारे पनि विचार भएको छ।

बुधबार प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बित भएका छन्। यस घटनापछि तत्कालका लागि निमित्त महानिर्देशक तोक्ने विषयमा छलफल भएको हो।

प्रधानमन्त्री कार्यालयमा भएको छलफल अनुसार तीन व्यक्तिका नाम चर्चामा छन्। उपमहानिर्देशक तहका सबैभन्दा वरिष्ठ प्रतापबाबु तिवारीले नियमअनुसार रिक्त पद पाउने पात्रता राख्छन्। तर उनको स्वभाव र अख्तियारमा भइरहेको अनुसन्धानको विषय उठाउँदै अन्य विकल्प पनि विचारमा आएका छन्। विशेष गरी पोखरा विमानस्थलमा भ्रष्टाचारसम्बन्धी बैठकमा उनको सहभागितालाई आधार मान्दै उनलाई निमित्त दिन नहुने प्रस्ताव उठेको छ।

त्यसबाहेक, दुई अन्य नाम पनि छलफलमा आएका छन्। नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी समेत हेर्ने प्रधानमन्त्री सुशीला कार्कीले जगन्नाथ निरौलालाई निमित्त महानिर्देशक बनाउने प्रस्ताव राखेकी छिन्। निरौला पाँचौं नम्बरका वरिष्ठ कर्मचारी हुन् र हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्व सम्हालिरहेका छन्। उनको समन्वय क्षमता राम्रो भएको भन्दै उनलाई प्राथमिकता दिने सुझाब आएको हो।

उता उद्योग, भूमि तथा कानुनमन्त्री अनिलकुमार सिन्हाले देवचन्द्र लाल कर्णलाई जिम्मेवारी दिनुपर्ने तर्क गरेका छन्। कर्णले हवाई क्षेत्रका उच्चस्तरीय समितिको नेतृत्व गरिसकेका छन् र हवाई सुरक्षामा विशेषज्ञ रहेको दाबी गर्छन्। उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) मा नेपालतर्फ विज्ञको रुपमा काम गरेका छन्।

हालको अवस्थामा क्यानको वरिष्ठ ६ जना कर्मचारीमध्ये प्रतापबाबु तिवारी, प्रेमनाथ ठाकुर र देवचन्द्र लाल कर्ण एयर ट्राफिक कन्ट्रोल पृष्ठभूमिका हुन्। हंसराज पाण्डे र बाबुराम पौडेल सिभिल इञ्जिनियरिङ पृष्ठभूमिका छन् भने जगन्नाथ निरौला लेखा समूहका कर्मचारी हुन्। वर्तमान परिस्थितिमा हवाई सुरक्षामा विशेषज्ञ नेतृत्व आवश्यक रहेको चर्चा भइरहेको छ।

प्राधिकरणका कर्मचारीहरू भने नियमअनुसार वरिष्ठ कर्मचारीलाई नै नेतृत्व दिनुपर्ने पक्षमा छन्। यसअघि पनि राजकुमार क्षेत्रीको पालामा पहिलो वरियताका कर्मचारीले निमित्त जिम्मेवारी पाएका थिए। कर्मचारीहरू अहिले पनि सोही अभ्यास जारी राख्नुपर्ने सुझाव दिन्छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij