काठमाडौँ : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन पेश गर्न आह्वान गरेको छ। आयोगले शुक्रबार सूचना प्रकाशित गर्दै कार्यक्रम शनिबारदेखि सुरु हुने जानकारी दिएको छ।
स्वीकृत निर्वाचन कार्यक्रमअनुसार, मङ्सिर २१ गते बिहान १० बजेदेखि २३ गते अपराह्न ४ बजे सम्म सो प्रणालीमा भाग लिन इच्छुक राजनीतिक दलहरूले निवेदन पेश गर्न सक्नेछन्। आयोगले गत आइतबारदेखि कान्तिपथस्थित कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ भने सचिव महादेव पन्थलाई सो प्रणालीका लागि निर्वाचन अधिकृत तोकिएको छ।
आयोगले मङ्सिर २४ गते बिहान १० बजे देखि अपराह्न ४ बजे सम्म निवेदन पेश गर्ने राजनीतिक दलहरूको नामावली प्रकाशित गर्नेछ। निवेदन पेश गर्ने दलहरूले पुस १३ र १४ गते बिहान १० बजे देखि अपराह्न ४ बजे सम्म उम्मेदवारको बन्दसूची पेश गर्ने अवसर पाउनेछन्। आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने छ, र त्यससम्म अब ९० दिन बाँकी छन्।
प्रत्यक्ष निर्वाचन कार्यक्रमअनुसार, माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ र सोही दिन उम्मेदवारको सूची पनि प्रकाशित गरिनेछ। माघ ७ गते उम्मेदवारीमाथि विरोधमा उजुरी दिन सकिनेछ भने, माघ ८ गते उम्मेदवारको नामावली प्रकाशित हुनेछ। उम्मेदवारले माघ ९ गते आफ्नो नाम फिर्ता लिन सक्नेछन्, र सोही दिन अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिह्न प्रदान गरिनेछ। आयोगले माघ ११ गते राष्ट्रियसभाको निर्वाचनको तयारी पनि गरिरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij