Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सञ्चारमन्त्री खरेलले बंगलामुखी क्षेत्रको घरदैलो भ्रमण गर्दै स्थानीय समस्यासमेत सुन्नुभयो

सञ्चारमन्त्री खरेलले बंगलामुखी क्षेत्रको घरदैलो भ्रमण गर्दै स्थानीय समस्यासमेत सुन्नुभयो

पाटन (ललितपुर) : नेवार समुदायको ठुलो चाड योमरी पुन्हीको अवसरमा बिहीबार बंगलामुखी मन्दिर क्षेत्रमा भक्तजनको ठूलो भिड लागेको थियो। चाडको अवसरमा सार्वजनिक विदा परेको कारण भक्तजन, स्थानीय र तीर्थालुको घुँइचो लाग्ने गरेको थियो।

यसैबीच, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बंगलामुखी मन्दिर परिसरमा दर्शन गर्नुका साथै स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग घरदैलोमा साक्षात्कार गर्नुभएको थियो। मन्त्रीको उपस्थितिले स्थानीय समुदायमा ठूलो उत्साह र खुशीको वातावरण सिर्जना भयो। स्थानीयहरूले मन्त्रीको घरदैलो भ्रमणलाई पहिलो पटक भएको र उदाहरणीय कार्य भएको भन्दै उच्च मूल्यांकन गरेका थिए।

मन्त्री खरेलले वडा ११ का स्थानीय, जेन्जी पुस्ता र पुराना जनप्रतिनिधिहरूसँग कुरा गर्दै उनीहरूको समस्या, सुझाव र पीरमर्का बुझ्नुभएको थियो। यस अवसरमा स्थानीयले सडक, तार व्यवस्थापन, सञ्चार सेवा र अन्य सार्वजनिक सुविधा सम्बन्धी सुझावहरू प्रस्तुत गरेका थिए।

उहाँले भक्तजनको उपस्थितिमा बंगलामुखी मन्दिर तथा कुम्भेश्वर महादेव मन्दिरको दर्शन पनि गर्नुभयो। साथै मन्दिर परिसरको वास्तुस्थिति, कलाकृति र वरिपरिका संरचनाको अवलोकन समेत गर्नुभयो। मन्त्री खरेलले स्थानीयहरूसँग प्रत्यक्ष संवाद गर्दै नागरिकसँगको पहुँचको महत्त्व औँल्याउनुभयो। उहाँले भन्नुभयो,
“जनताको घरदैलोमा पुगेर उनीहरूको समस्या सुन्न पाउँदा मन्त्री भएको महसुस हुन्छ। सरकार सिंहदरबारमा मात्र केन्द्रित हुनु हुँदैन, नागरिकसँग प्रत्यक्ष पहुँच आवश्यक छ। यसरी जनताको सुभाव, पीरमर्का र सुझाव प्रत्यक्ष सुन्न पाउँदा सरकारको काम प्रभावकारी हुन्छ।”

स्थानीय प्रर्णव श्रेष्ठले भने, “पहिला मन्त्री भेट्न सिंहदरबार जानुपर्थ्यो। अहिले मन्त्री स्वयं घरदैलोमा आएर जनताको कुरा सुन्नुभयो, यस्तो अनुभव हामीले पहिले पाएका थियौं। नागरिक सरकारको वास्तविक अनुभूति भयो।”

त्यसैगरी ८७ वर्षीय बाबुलाल महर्जन र स्थानीय महेन्द्र महर्जनले पनि मन्त्रीसँग प्रत्यक्ष भेट पाउँदा खुशी व्यक्त गरे। गुठीमा यमरी पुन्हीका परिकार बनाइरहेकी रेणु महर्जन र सन्तु महर्जनले पनि मन्त्रीको उपस्थितिलाई उत्साहजनक अनुभवको रूपमा लिइन्।

मन्त्री खरेलको घरदैलो भ्रमणले स्थानीय समुदायमा सरकारी काम र नागरिक सहभागिताको प्रत्यक्ष अनुभव दिने महत्वपूर्ण पहलका रूपमा स्वागत गरिएको छ। यस प्रकारको कार्यक्रमले नागरिक सरकारको अवधारणालाई अझ बलियो बनाउने र स्थानीय समस्या पहिचान तथा समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट