Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

केन्द्रीय कमिटी र पदाधिकारी संख्या फेरबदल गर्न ओलीको संकेत

केन्द्रीय कमिटी र पदाधिकारी संख्या फेरबदल गर्न ओलीको संकेत

काठमाडौं : नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै जाँदा नेतृत्वको बहस पार्टीभित्र तीव्र बनेको छ। मंसिर २९ सम्म नयाँ नेतृत्व चयन गरेर महाधिवेशन सम्पन्न गर्ने तयारीसहित एमालेले मंसिर १३ गते देशभरबाट प्रतिनिधि चयन गरेको थियो। प्रतिनिधि छनोट सकिएसँगै नेता–कार्यकर्ता आन्तरिक कूटनीति, समिकरण र गणितमा व्यस्त छन्।

अध्यक्ष पदका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने लगभग पक्का भइसकेको छ। दुवै पक्ष आफ्ना–आफ्ना टिमसहित महाधिवेशनमा उत्रिने तयारीमा छन् भने औपचारिक रूपमा प्यानल घोषणा गर्न भने दुवैले बाँकी राखेका छन्। तर प्रचार–प्रसारमा भने दुवै समूह सक्रिय छन्।

ओली समूहले ‘मेरो होइन माटोको बोली, फेरि एक पटक केपी ओली’ भन्ने नारासहित प्रचार सामग्री सार्वजनिक गरेको छ। उनीहरूको पोस्टरमा ओलीको तस्बिर प्रमुख रूपमा देखिन्छ। यता, पोखरेल पक्षले दिवंगत नेता मदन भण्डारीको तस्बिरलाई पृष्ठभूमिमा राख्दै ‘जोगाउन लोकतन्त्र र देशको अस्तित्व, एमालेलाई दृढ र सन्तुलित नेतृत्व’ नारा अघि सारेको छ।

ओली र पोखरेल पक्ष आ–आफ्नो रणनीतिमा

पोखरेल समूहले ओली प्यानल सार्वजनिक भएपछि मात्र आफ्नो प्यानल घोषणा गर्ने रणनीति लिएको बुझिन्छ, जसले असन्तुष्ट नेताहरूलाई आफ्नो पक्षमा तान्ने अपेक्षा गरिएको छ। पोखरेललाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकट समूह तथा नेकपाको १० बुँदे पक्षधर नेताहरूको साथ पाइरहेको देखिन्छ। उनीहरूले सुन्धारास्थित होटल र थापागाउँको मदन भण्डारी फाउन्डेसनलाई भेटघाट केन्द्र बनाएका छन्।

ओलीले भने भक्तपुरको गुण्डुस्थित अस्थायी निवासमा अधिकांश भेटघाट गर्दै आएका छन्। उनी अपने निकट नेताहरूलाई ‘छनोट भएका प्रतिनिधिमध्ये ८०–८५ प्रतिशत आफ्नो पक्षमा छन्’ भन्ने दाबी गर्दै आएका छन्। UML अनुसार महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन्।

एक केन्द्रीय सदस्यका अनुसार, “प्रतिनिधि छनोटमा ८०–८५ प्रतिशत हाम्रो पक्षको रहेको छ। हल्ला धेरै गरे पनि अन्ततः बैठकहरूमा विपरीत पक्षको उपस्थिति न्यून रह्यो,” उनले बताएका छन्।

ओली ‘कम्फर्ट जोन’मा, प्यानल निर्माण अन्तिम चरणमा

छनोट भएका प्रतिनिधिहरूको सूक्ष्म अध्ययन गर्दै ओली आफू ‘कम्फर्ट जोन’मै रहेको आफ्ना निकटहरुलाई बताइरहेका छन्। उनी एक–एक नेतासँग अलग्गै भेटेर मनस्थिति बुझ्दै प्यानल निर्माणको गृहकार्य गरिरहेको स्रोत बताउँछ।

अधिकारीका अनुसार, ओलीले टिम घोषणा बन्दसत्रमै एकैपटक गर्ने तयारी गरेका छन्। महाधिवेशन नजिकिएसँगै गुण्डुमा पुग्ने नेताहरू आफ्नो पदबारे चासो राख्ने गरेका छन्।

ओलीले पद माग्न जाने नेताहरूसँग तीन प्रश्न गरेका छन्—

  1. तपाईंहरू मलाई नै नेता मान्ने हो कि कसैलाई ?

  2. मप्रति विश्वास छ कि छैन ?

  3. कुनै डाउट छ ?

यी प्रश्नमा सकारात्मक उत्तर पाउनेबित्तिकै ओलीले, “त्यसो भए अहिले फर्कनुस्, म जे भन्छु त्यही गर्नुहोस्,” भन्दै पठाउने गर्ने गरेको स्रोत बताउँछ।

विधान संशोधनतर्फ ओलीको ध्यान

गत भदौमा सम्पन्न विधान महाधिवेशनले केन्द्रीय कमिटी २५५ सदस्यमा झारेको थियो, स्थायी कमिटी खारेज गरिएको थियो, र पदाधिकारी १९ बाट १५ मा सीमित गरिएको थियो। तर धेरै नेताको व्यवस्थापन चुनौतीपूर्ण हुने निष्कर्ष निकाल्दै ओली पुनः विधान संशोधनको प्रस्ताव लैजाने मनस्थितिमा पुगेका छन्।

ओली निकट एक पदाधिकारी भन्छन्, “दबाब पनि छ, अध्यक्ष स्वयं पनि केही संरचनागत परिवर्तन आवश्यक ठान्नुहुन्छ। महाधिवेशनपछि नेताहरूको व्यवस्थापन सहज नहुने भएकाले केही बुँदामा संशोधन आवश्यक देखिएको छ।”

यस विषयमा छिट्टै बस्ने सचिवालय बैठकमा प्रस्ताव पेस गर्ने तयारी रहेको स्रोतको भनाइ छ। महाधिवेशन उद्घाटनपछि केन्द्रीय कमिटी बैठक बसेर अध्यक्षमण्डल घोषणा गर्ने गरी ओलीले कार्ययोजना बनाएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट