काठमाडौँ : नेकपा एमालेको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएका छन्। महाधिवेशनको उद्घाटन मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने तय भएको छ।
महाधिवेशनका लागि गठित स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार उद्घाटन सत्रमा ठूलो जनसहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गर्ने योजना बनाइएको हो। महाधिवेशनको बन्दसत्रमा करिब ५०० स्वयंसेवक खटिनेछन्। स्वयंसेवकहरू पार्टीका २४ जनसङ्गठन र विभिन्न कमिटीबाट माग गरिएको छ भने हालै गठन गरिएको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) ले समन्वय गर्नेछ।
सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफलमा फैलिएको चौरमा एमालेका उपमहासचिव तथा महाधिवेशन जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीसहितको टोलीले अवलोकन गरेको छ। टोलीमा केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य विनोद श्रेष्ठ, भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, बागमती प्रदेशका स्वास्थ्य मन्त्री एवं उपाध्यक्ष किरण थापा, जिल्ला सचिव विष्णु तामाङ लगायत सहभागी थिए।
संयोजक ढकालका अनुसार उक्त चौरमा करिब दुई लाख जनसहभागिताको क्षमता रहेको छ। मञ्च व्यवस्थापन, शौचालय लगायत आवश्यक पूर्वाधार निर्माणका लागि स्वयंसेवकलाई खटाइसकिएको छ। उद्घाटन दिन पूर्वतर्फ आउने सवारी साधन जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमतर्फका सवारी गठ्ठाघरबाट कमेरोटार क्षेत्रमा व्यवस्थापन गरिने छ।
महाधिवेशनमा आयोजक र निर्वाचित गरी २,४०० प्रतिनिधि रहनेछन्। महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij