कैलाली : जिल्लाको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्रमा धान बिक्रीका लागि पुगे। तर, उनले त्यस दिन पालो पाउन सकेनन्। पालो पाउन चार दिन कुर्नु परेको उनले बताए।
सरकारले धानको समर्थन मूल्य तोकेर खरिद सुरु गरेपछि किसान उत्साहित बनेका छन्। तर, खरिद प्रक्रिया ढिलो हुँदा उत्साह निराशामा बदलिएको छ। कतिपय किसान बिहानदेखि बेलुकीसम्म लाइनमा बसेर पनि धान बेच्न नपाई घर फर्किन बाध्य भएका छन्।
किसान विष्णु चौधरी भन्छन्, “धान बेच्न यति दुःख कहिल्यै भएको थिएन। बिहानदेखि बेलुकीसम्म लाइनमा बस्दा पालो आउँदैन, रातमा डल्लफ र धानको सुरक्षा गर्न यही बस्नुपर्छ।”
भजनी उपकेन्द्रका कर्मचारी भीमबहादुर बुढाका अनुसार प्रतिकिसान ५० क्विन्टलसम्म धान खरिद भइरहेको छ। पूर्वाधार र जनशक्ति अभावकै कारण खरिदमा ढिलाइ भएको उनले बताए।
सुदूरपश्चिम प्रमुख दीपक थापाका अनुसार कैलालीमा यो वर्ष ३५ हजार क्विन्टल धान खरिद लक्ष्य राखिएको छ, जसअन्तर्गत नौ हजार क्विन्टलभन्दा बढी खरिद भइसकेको छ। किसानको चापका कारण बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म धान खरिद कार्य सञ्चालन भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij