म्याग्दी : यहाँको धवलागिरि गाउँपालिका–१ गुर्जाका ख्याली नाच र आमा समूहले नाचगानबाट सङ्कलित रकम सडक निर्माणका लागि सहयोग गरेका छन् ।ख्याली नाच समूहका कलाकारहरूले दसैँमा नृत्य प्रदर्शन गरेर दानदक्षिणबापत सङ्कलन गरेको रु एक लाख र हिमाली आमा समूहले तिहारमा देउसीभैलो खेलेर जुटाएको रु दुई लाख म्याग्दीको सबैभन्दा विकट मानिने गुर्जा जोड्ने सडक योजनाका लागि सहयोग गरेका हुन् ।
ख्याली नाच समूहले आज वडा कार्यालयमार्फत सडक निर्माणका लागि गुर्जा विकास मञ्चलाई उपलब्ध गराएको धवलागिरि गाउँपालिका–१ का अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।यसअघि गत तिहारमा आमा समूहले देउसीभैलो खेलेर सङ्कलन गरेको रु दुई लाख नगद पनि वडा कार्यालयमार्फत मञ्चलाई उपलब्ध गराएका थिए ।
गुर्जा म्याग्दीमा सडक सञ्जालको पहुँच नपुगेको एक मात्रै वडा हो । गाउँमा छिटो मोटरबाटो जोडियोस् भन्ने उद्देश्यले सहयोग गरेको आमा र ख्यालीनाच कलाकार समूहका पदाधिकारीहरूले बताए ।धवलागिरि गाउँपालिकाको वडा नं २ लुलाङदेखि देउराली हुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म सडकको पहुँच पु–याउन करिब पाँच किलोमिटर सडकको ट्र्याक निर्माण गर्न बाँकी रहेको छ ।
उनका अनुसार लुलाङ–गुर्जा सडकका लागि यस वर्ष सङ्घीय सरकारले समपूरक बजेटबाट रु एक करोड ४० लाख, गाउँपालिकाले समपूरक साझेदारी बजेट रु ३५ लाख, सहरी विकास मन्त्रालयबाट रु तीन करोड र गण्डकी प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij