काठमाडौँ : देशकै ठूला निजी बैंकमध्ये एक, एनआईसी एशिया बैंक लिमिटेड भित्र यौन दुर्व्यवहार, आन्तरिक दुराचार र “मिलेरै सल्टाउने” संस्कृतिले संस्थागत साख र नैतिक मूल्यमा गहिरो प्रश्न उठाएको छ।
पछिल्ला मिडिया रिपोर्टहरूका अनुसार बैंकका एक उच्च अधिकारीले आफ्नै सहकर्मीमाथि यौन दुर्व्यवहारको आरोप लागेका व्यक्तिलाई बचाउन खोज्दै पत्रकारमाथि समाचार नछाप्न दबाब दिएका थिए।
विश्वसनीय स्रोतका अनुसार ती अधिकारीले संस्थाको साखमा असर पर्छ भन्दै सञ्चारमाध्यमलाई समाचार रोक्न आग्रह गरेका थिए। तर, ती अधिकारी स्वयं पनि एक महिला पत्रकारसँगको नजिक सम्बन्धका कारण आन्तरिक विवादमा तानिएका व्यक्ति हुन्।
आन्तरिक स्रोतका अनुसार यस्तै “मिलेरै सल्टाउने” अभ्यासकै कारण बैंकभित्रका केही अधिकारीहरू व्यक्तिगत र पारिवारिक संकटमा समेत परेका छन्। उनीहरूका अनुसार कार्यस्थलमा अस्वस्थ वातावरण र अनियन्त्रित व्यवहारका कारण संस्थाको साखमा निरन्तर धक्का पुगिरहेको छ।
बैंकभित्र पालना नीति उल्लङ्घन, कर्मचारीमाथि मानसिक दवाब, अनुचित पदोन्नति र स्वार्थपूर्ण निर्णयहरूका विषयमा नेपाल राष्ट्र बैंकले विगत वर्षदेखि नै गम्भीर चासो देखाउँदै आएको छ। यही कारण राष्ट्र बैंकमा “एनआईसी एशिया बैंक लिमिटेड बन्द गर्नुपर्छ” भन्ने उजुरी समेत दर्ता भएको बताइन्छ।
यसबीच, नयाँ प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य नियुक्त भएपछि बैंक पुनः निगरानीमा आएको छ। जनमत स्पष्ट छ — अब बैंकभित्र पारदर्शिता, जवाफदेहिता र नैतिक नेतृत्व अपरिहार्य छ।
आरोपित पक्षसँग सम्पर्कका प्रयास असफल भएका छन्। तर यौन दुर्व्यवहारजस्ता संवेदनशील विषयलाई “संस्थाको साख” भन्दै ढाकछोप गर्ने प्रवृत्तिले बैंकिङ क्षेत्रमा नैतिकताको संकट गहिरो बनाएको टिप्पणी गरिन्छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij