Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारीपत्रमा हस्ताक्षर

आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं :  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले संस्थागत आर्थिक अपराधविरुद्ध सहकार्य गर्ने भएका छन् । सोको लागि दुवै संस्थाले मंगलबार संस्थागत आर्थिक अपराध विरुद्ध सहकार्यका लागि पारस्परिक समझदारी–पत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीपत्रमा आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगर र सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षर समारोहमा दुवै संस्थाका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो समझदारीको उद्देश्य संस्थागत आर्थिक अपराध अनुसन्धान गर्नको लागि ज्ञान तथा दक्षता अभिवृद्धि गर्नु तथा संस्था, ब्युरोबीच लेखापरीक्षणसंग सम्बन्धित विषयमा सूचना आदानप्रदान गरी दुई निकायबीच समन्वय र सहकार्य स्थापित गर्नु, नेपाल चार्टर्ड एकाउन्टेन्टस ऐन, २०५३ बमोजिम गर्ने अनुगमन लगायत नियमनसम्बन्धी कार्यमा आवश्यकताअनुसार ब्युरोले संस्थालाई सहयोग उपलब्ध गराउनु, नक्कली लेखापरीक्षक विरुद्ध कारवाही गर्नु तथा संस्थागत वित्तीय ठगी, आर्थिक तथा वित्तीय अपराधसँग सम्बन्धित विषयमा सार्वजनिक जनचेतना अभिवृद्धि गर्नको लागि आवश्यक समन्वय, सहकार्य र सहयोग आदानप्रदान गर्नु रहेको समझदारीपत्रमा हस्ताक्षर गरेपछि संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समझदारीअन्तर्गत आर्थिक तथा वित्तीय अपराध अनुसन्धानको सिलसिलामा ब्युरोबाट विषयसँग सम्बन्धित प्राविधिक तथा विशेषज्ञताको लागि माग भई आएमा संस्थाले ब्युरोलाई प्राविधिक तथा विशेषज्ञसम्बन्धी सहयोग गर्ने तथा संस्थाले सञ्चालन गर्ने फरेन्सिक अकाउन्टिङ एन्ड फ्रडडिटेक्सन (एफएएफडी) सर्टिफिकेसन कोर्समा ब्युरोका कर्मचारीलाई संलग्न गरी कर्मचारीहरुको ज्ञान तथा दक्षता अभिवृद्धि गर्नको लागि आवश्यक व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

संस्थाका सदस्यविरुद्ध कुनै जाहेरी वा उजुरी परेको अवस्थामा सो सम्बन्धमा छानबिन गर्दा जाहेरी वा उजुरी परेका संस्थाका सदस्यले लेखापरीक्षण गर्दा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स, नियमावली, २०६१, संस्थाले जारी गरेको लेखापरीक्षणमान र लेखाव्यवसायी सदस्यहरुको लागि संस्थाले जारी गरेको आचार संहिताबमोजिम संस्थाको क्षेत्राधिकारभित्र पर्ने भए ब्युरोले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँग आवश्यक समन्वय गर्ने तथा संस्थाका सदस्यविरुद्ध लेखा तथा लेखापरीक्षणसँग सम्बन्धित विषयमा संस्थामा परेको उजुरीउपर छानविन गर्ने क्रममा प्रचलित कानुन बमोजिम नेपाल प्रहरीको क्षेत्राधिकारभित्र पर्ने विषय भएमा थप छानविन गरी अनसुन्धान गर्न संस्थाले आवश्यक कागजात सहितको जानकारी ब्युरोलाई गराउने समझदारी भएको छ ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा आइक्यानका अध्यक्ष तथा सिआईबीका प्रमुखले वर्तमान समयमा संस्थागत वित्तीय अपराधहरु व्यापक मात्रामा बढ्दै गएकोले सोको अनुसन्धान तथा नियन्त्रण गर्न आवश्यक ज्ञान सीप तथा दक्षता अभिवृद्धि गर्न, गैरकानुनी वा अनाधिकृत रुपमा हुने लेखापरीक्षण वा लेखा व्यवसायलाई नियन्त्रण गर्न तथा संस्था र व्युरोबीच आपसी सूचना आदानप्रदानमा यस समझदारीले अहं भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

दुवै निकायहरु बीचको यस समझदारी पत्रको प्रभावकारी रुपमा कार्यान्वयनबाट नेपालको वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण, लेखापरीक्षण क्षेत्रमा रहेको अवाञ्छित क्रियाकलापहरु नियन्त्रण गर्न सहयोग पुग्ने तथा आइक्यानका सदस्यहरुको हितको संरक्षण हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij