काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक आज पनि स्थगित भएको छ । अर्को बैठक कात्तिक १८ गते मङ्गलवार दिउँसो १ बजेका लागि तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टीको १५औं महाधिवेशनको मिति तोक्नेसम्बन्धी प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गर्नेबारेमा संस्थापन र संस्थापनइतर पक्षबीच सहमति हुन नसक्दा बैठक स्थगित भएको हो । यसअघि पनि शुक्रवारको बैठक यसरी नै स्थगित गरिएको थियो ।
कांग्रेसमा फागुन २१ गतेको चुनावपछि महाधिवेशन गर्ने वा त्यसअघि नै महाधिवेशन गर्ने विषयमा बहस चलिरहेको केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले जानकारी दिए ।
गएको असोज २८ गतेदेखि शुरू भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा पहिलो दिन सभापति शेरबहादुर देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका थिए ।
यसैबीच पार्टीको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेको विरोधमा नेविसङ्घका विद्यार्थीहरूले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरू बैठक शुरू हुनुभन्दा अगाडि नियमित महाधिवेशनको पक्षमा तत्काल निर्णय गर्न दबाव दिन पार्टी कार्यालय घेराउ गर्न पुगेका थिए । तर बैठक शुरू नै नभई थप दुई दिनका लागि स्थगित भएपछि आक्रोशित विद्यार्थी नेताहरूले पार्टी केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै नेताहरूविरुद्ध नाराबाजी गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij