Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

ओली र लेखकलाई पक्राउ नगरेको भन्दै प्रदर्शनको तयारी, सुशीला कार्कीको राजीनामा माग

ओली र लेखकलाई पक्राउ नगरेको भन्दै प्रदर्शनको तयारी, सुशीला कार्कीको राजीनामा माग

काठमाडौँ : ‘पहिला देश (पिपुल्स रेभुलेसन) अभियान’ ले तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सिडिओलाई पक्राउ नगरेको विरोधमा कार्तिक १६ गते आइतबार माइतीघरमा प्रदर्शन गर्ने जनाएको छ। शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानले जेनजीको मागअनुसार काम गर्न नसकेको भन्दै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामासमेत माग गरेको छ।

पहिला देश अभियानका डा. निकोलश भुसालले जेन–जी आन्दोलन मुख्यतया सुशासन, भ्रष्टाचार मुक्त समाज र कार्यकारी प्रमुखको लागि भएको बताए। तर, वर्तमान सरकार उल्टो दिशामा गएको उनको आरोप छ। भुसालले जेनजीलाई गोली हान्न आदेश दिने ओली र लेखकलाई पक्राउ गरी अनुसन्धान गर्नु सरकारको पहिलो प्राथमिकता भए पनि त्यसो नगरेको कारण कार्तिक १६ गते प्रदर्शनमा उत्रन बाध्य भएको बताए।

पहिला देशका संयोजक एसपी शाहले भोलिको प्रदर्शनमा जेनजी, लघुवित्त, सहकारी, मिटर ब्याज, बैंकलगायतका पीडितले संयुक्तरूपमा प्रदर्शन गर्ने जानकारी दिए। उनले ठुलो बलिदानबाट आएको सरकार पुरानै व्यवस्था र भ्रष्टहरूको संरक्षक भएको आरोप लगाउँदै त्यसको विकल्प खोजिनु पर्ने माग गरे।

पहिला देशका संरक्षक तथा लघुवित्त पीडित सङ्घर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले जेनजी आन्दोलनको आँधीहुरीबाट निर्माण भएको वर्तमान सरकार पनि केपी ओलीको भन्दा फरक नभएकोले संविधान परिमार्जन सभामार्फत देशलाई निकास दिनुपर्ने बताए । उनले वित्तीय शोषणको अन्त्य र विशेष वित्तीय ऐन खारेजको माग गर्दै त्यसको मुख्य बाधक राष्ट्र बैंक भएको आरोप लगाए। ज्ञवालीले वर्तमान सरकारले जेनजीको मर्मअनुसार देशलाई अगाडि बढाउनुपर्ने माग राखेका छन्।

जेन–जी रविकिरण हमालले आन्दोलन हाइज्याक भएको र त्यसको फाइदा गलत व्यक्तिहरूले लिँदा शहीद र घाइतेहरू अपमानित भएको बताउँदै सुशीला कार्की सरकारको विस्थापनको माग गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट