Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

कटहरिया नगरपालिकामा चौथो दिन पनि तालाबन्दी, विद्यालयमा अनिश्चितकालीन हडताल

कटहरिया नगरपालिकामा चौथो दिन पनि तालाबन्दी, विद्यालयमा अनिश्चितकालीन हडताल

रौतहट : रौतहटको कटहरिया नगरपालिका र त्यसका सबै वडा कार्यालयहरूमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले तलब–भत्ताको माग गर्दै सुरु गरेको तालाबन्दी चौथो दिनसम्म पनि यथावत् रहेको छ। लामो समयदेखि बक्यौता तलब र सेवा–सुविधा नपाएको भन्दै कर्मचारीहरूले दोस्रो पटक नगरपालिका कार्यालयसहित वडा नं. १ देखि ९ सम्मका सम्पूर्ण कार्यालयहरूमा ताला लगाएका हुन्।

लगातार चार दिनदेखि कार्यालय बन्द हुँदा नगरका सेवाग्राहीहरू अत्यावश्यक प्रशासनिक कामका लागि बिचल्लीमा परेका छन्। वडा कर्मचारीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

नगर प्रमुख अजय प्रकाश जयसवालले प्रमुख प्रशासकीय अधिकृतलाई तलब निकासा गर्न निर्देशन दिए पनि उनले अटेर गरेको दाबी गरेका छन्। तर, कर्मचारीहरूले भने मेयर र प्रमुख प्रशासकीय अधिकृत दुवैले पटक–पटक आश्वासन दिएर पनि कार्यान्वयन नगरेको भन्दै अब विश्वास गर्न नसकिने बताएका छन्।

यसैबिच, कटहरिया–४ बलिरामपुरस्थित श्री दलित प्राथमिक विद्यालयमा पनि अभिभावकहरूले अनिश्चितकालीन तालाबन्दी गरेका छन्। विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षले विगत पाँच वर्षदेखि विद्यालयको आर्थिक हिसाबकिताब सार्वजनिक नगरेको र तीन वर्षदेखि २७३ विद्यार्थीको छात्रवृत्ति वितरण नगरेको भन्दै अभिभावकहरू आन्दोलित भएका हुन्।

अभिभावकहरूले हिसाबकिताब सार्वजनिक नभएसम्म विद्यालयको ताला नखोल्ने चेतावनी दिएका छन्। प्रधानाध्यापक प्रभु महतोले आज दिउँसो इलाका प्रहरी कार्यालय कटहरियामा अभिभावकहरूसँग छलफल गरिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट