बुटवल : सहकारी ठगी र संगठीत अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइआज पनि स्थगित भएको छ ।
उनीहरू दुवैको मुद्दा उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलाशमा सुनुवाइ हुने कार्यसूची अदालतले प्रकाशित गरेको थियो । तर तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविललाल जोशी निवेदकका तर्फबाट आजको सुनुवाइ स्थगित गरिपाउं भन्ने निवेदन परेकाले सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुंवरले बताए ।
‘अब अर्को बिहीबार साप्ताहिक पेशी पर्छ, रवि र छवि दुवै निवेदकका तर्फबाट स्थगितको निवेदन नपरे सुनुवाइ हुन्छ’–कुँवरले भने । यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।
बिगोबमोजिमको रकम बुझाई थुनाबाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले रवि सँगै छविलाल जोशीको पनि फाइल पेश गर्न आदेश दिएको थियो ।यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
यसअघि उनले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेश गरेका थिए । लामिछाले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेश गरेका थिए ।
लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेश गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरेको थियो ।
पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन । भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भने भैरहवा कारागारमै छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij