काठमाडौँ : समाचारको विषयलाई लिएर पत्रकार किशोर श्रेष्ठलाई एमाले नेता महेश बस्नेतले ज्यान मार्ने धम्की दिएको भन्दै समाजवादी प्रेस संगठन नेपालले भर्त्सना गरेको छ । पूर्वउद्योगमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतले जनआस्था साप्ताहिकमा प्रकाशित ‘महेश बस्नेतलाई पोस्तादानामा पक्रने प्लान’समाचारलाई लिएर सोही पत्रिकाका सम्पादक तथा समाजवादी प्रेस संगठन नेपालका सल्लाहकार किशोर श्रेष्ठलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्कीयुक्त स्टाटस लेखेका थिए ।
उक्त घटनाप्रति समाजवादी प्रेस संगठन, नेपालको गम्भीर ध्यानाकर्षण भएको प्रेस संगठनमा महासचिव रोहित दाहालले विज्ञप्तिमार्फत जनाएका छन् । ‘पत्रकारमाथि यस किसिमको धम्कीपूर्ण अभिव्यक्ति आउनु स्वतन्त्र प्रेस, लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण हो । पत्रकारले जनचासोका विषयमा प्रश्न सोध्नु, समाचार लेख्नु वा आलोचना गर्नु उसको पेसागत दायित्व हो’, महासचिव दाहालले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसको प्रत्युत्तरमा ज्यान मार्ने धम्कीसमेत दिने कार्य कुनै हिसाबले पनि न्यायसङ्गत हुन सक्दैन ।’ समाजवादी प्रेस संगठन नेपाल यस्तो अलोकतान्त्रिक, गैरराजनीतिक र आपराधिक प्रवृत्तिको कडा भर्त्सना गर्दै तत्काल घटनाको निष्पक्ष छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न सरकार र सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij