Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

मङ्सिर ७ देखि देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा

मङ्सिर ७ देखि देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौ :  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको माग राख्दै मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्।यो आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन नभएको उनले स्पष्ट पारेका हुन्। प्रसाईंका अनुसार यो अभियान पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, १४ अञ्चल, ७५ वटै जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रमा हुनेछ।

बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आन्दोलन मङ्सिर ७ गतेदेखि नै सुरु हुने कुरा आजै भन्नुपरेको बताए। बिचमा मानिसहरू अलमलमा परेकोले यो घोषणा गर्नुपरेको उनको भनाइ थियो।

मङ्सिर ७ गतेको महत्त्वबारे प्रसाईंले भने, ‘यो दिन दिल्लीमा दलहरू र विद्रोही माओवादीबिच १२ बुँदे सम्झौता भएको थियो। त्यही १२ बुँदे सहमतिका कारण देशमा राजसंस्था गयो, हिन्दु अधिराज्य गयो, र आज नेपाली नागरिक विदेश गएर देश खाली भएको तथा विदेशीहरूको इसारामा एनजीओ र आईएनजीओका सरकारहरू चलेको छ।’यो अभियान पशुपति र माता दुर्गालाई जोगाउने तथा घर छोडेर विदेश गएका नेपाली छोराछोरीलाई घर फर्काउने अभियान भएको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट