Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

रुसले विकास गरेको पहिलो क्यान्सर खोप ‘केही महिनामै’ प्रयोगमा आउने

रुसले विकास गरेको पहिलो क्यान्सर खोप ‘केही महिनामै’ प्रयोगमा आउने

मस्को - गमालेया इपिडिमियोलोजी तथा माइक्रोबायोलोजी रिसर्च इन्स्टिच्युटका निर्देशक अलेक्जेन्डर जिन्त्सबुर्गले रूसका बिरामीहरूले आगामी ‘केही महिनाभित्रै’ नव विकसित क्यान्सर खोप लिन सक्ने घोषणा गरेका छन्। महत्वपूर्ण उपलब्धिका रुपमा रहेको यो खोप व्यक्तिगत रूपमा तयार पारिएको, एआई—सहयोगित र एमआरएनए—आधारित खोप हो, जुन बिरामीको आफ्नै जेनेटिक डेटा प्रयोग गरी घातक ट्युमरलाई लक्षित गर्न डिजाइन गरिएको हो।

शनिबार रिया नोभोस्तीसँग कुरा गर्दै जिन्त्सबुर्गले आगामी केही महिनाभित्रै उपचारको प्रयोगात्मक चरण सुरु हुने पुष्टि गरे, जुन मस्कोस्थित दुई प्रमुख क्यान्सर संस्थाहरु—हर्ट्सेन अनुसन्धान संस्थान र ब्लोखिन क्यान्सर केन्द्रसँगको सहकार्यमा सञ्चालन गरिनेछ। जिन्त्सबुर्गका अनुसार खोप उत्पादनको जिम्मा गमालेया केन्द्रले लिनेछ भने बिरामीमाथि गरिने परीक्षणहरू साझेदार क्लिनिकहरूले सञ्चालन गर्नेछन्। ‘स्वास्थ्य मन्त्रालयद्वारा अनुमोदित योजनाअनुसार हामी नव—एन्टिजेनहरूमा आधारित क्यान्सर खोप प्रयोग गरेर मेलानोमा (छालाको क्यान्सर) भएका बिरामीहरूको समूहमा प्रयोगात्मक उपचार सुरु गर्ने तयारीमा छौं,’ जिन्त्सबुर्गले भने।

उनले जोड दिँदै भने कि यो औषधि ‘पूर्ण रूपमा व्यक्तिगत’ हो, जुन प्रत्येक बिरामीको अनौठो ट्युमर डेटा प्रयोग गरेर विशेष रूपमा तयार गरिन्छ र अरू कसैका लागि प्रयोग गर्न सकिँदैन। खोप विकास सन् २०२२ को मध्यतिर सुरु गरिएको थियो र यसमा म्यासेन्जर आरएनए (mRNA) प्रविधि प्रयोग गरिएको छ। यो उपचारले बिरामीको प्रतिरक्षा प्रणालीलाई ट्युमर-विशेष प्रोटिनहरू (एन्टिजेन) चिन्न सिकाउने र साइटोटोक्सिक लिम्फोसाइटहरूको प्रयोगमार्फत शरीरभर फैलिएका घातक कोषहरू नष्ट गर्ने काम गर्छ। यसको व्यक्तिगत स्वरूपका कारण क्यान्सर खोप रूसी सरकारले यसै वर्ष स्वीकृत विशेष नियामक प्रणालीअन्तर्गत ल्याइएको छ। ‘यो सामान्य औषधिको दर्ता प्रक्रियाबाट पूर्ण रूपमा फरक प्रक्रिया हो,’ जिन्त्सबुर्गले स्पष्ट पारे र टोली नयाँ निर्देशिकाअनुसार स्वास्थ्य अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको बताए।

मेलानोमा बिरामीका लागि प्रारम्भिक रूपमा डिजाइन गरिएको खोपले जनावर परीक्षण र सीमित मानव परीक्षणहरूमा सकारात्मक परिणाम देखाइसकेको छ। जिन्त्सबुर्गले पहिले भनेका थिए कि ट्युमर विश्लेषणदेखि व्यक्तिगत खोप तयार पार्नेसम्मको सम्पूर्ण प्रक्रिया कृत्रिम बौद्धिकता (एआई) को सहयोगमा लगभग एक हप्तामा पूरा गर्न सकिन्छ। गमालेया केन्द्र, जसले विश्वको पहिलो दर्ता गरिएको कोभिड—१९ खोप स्पुतनिक भी विकास गरेको थियो । अहिले प्यानक्रियाटिक, मिर्गौला र नन—स्मल—सेल लङ क्यान्सर— जुन सबैभन्दा बढी देखिने र मृत्युदर उच्च भएको क्यान्सर हो—का लागि पनि उपचार मोडेलहरू विकास गरिरहेको छ। रूसको स्वास्थ्य मन्त्रालयका अनुसार देशमा झन्डै ४ मिलियन क्यान्सरका बिरामी छन् र वार्षिक रूपमा करिब ६ लाख २५ हजार नयाँ बिरामी देखिन्छन्। यदि यो खोप सुरक्षित र प्रभावकारी प्रमाणित भयो भने यसले रूसको सार्वजनिक स्वास्थ्य रणनीतिमा एक ऐतिहासिक उपलब्धि ल्याउन सक्छ। यस नवप्रवर्तनमा अन्तर्राष्ट्रिय चासो देखिएको छ र जिन्त्सबुर्गले केही विदेशी चिकित्सा संस्थाहरूले सहकार्यको इच्छा व्यक्त गरिसकेको पुष्टि गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij