वासिङ्टन डिसी: अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले गाजामा युद्ध सुरु भएयता पहिलो पटक सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । गाजामा अनिकालको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै ओबामाले यसलाई तुरुन्तै अन्त्य गर्न अपिल गरेका छन् ।
गाजामा निर्दोष मानिसहरूको मृत्यु रोक्नुपर्ने उनले बताए । अमेरिकाका पूर्व राष्ट्रपतिको यो भनाइले इजरायलमाथि कस्तो दबाब पर्ला यो भने हेर्न बाँकी नै छ ।
बाराक ओबामाले एउटा अमेरिकी पत्रिकामा एउटा लेख लेखेका थिए । सामाजिक सञ्जालमा यस लेखको लिङ्क सेयर गर्दै ओबामाले एउटा पोस्टमा लेखेका छन्, ‘गाजा संकटको समाधानमा सबै बन्धकहरूको फिर्ती र इजरायली सैन्य कारबाहीको अन्त्य समावेश हुनुपर्छ । तर यो लेखले गाजामा भोकमरीबाट हुने मृत्युलाई तुरुन्तै रोक्नुपर्ने आवश्यकतालाई प्रकाश पार्छ ।’ ओबामाले अर्को पोस्टमा चाहिँ गाजाका मानिसहरूसम्म सहायता पुग्न अनुमति दिइनुपर्ने भनेका छन् । आम नागरिकलाई खाना र पानी रोक्नुको कुनै पनि तर्क जायज हुन नसक्ने उनको भनाइ छ ।
इजरायलले गाजामा नाकाबन्दी लगाएको छ, जसले गर्दा मानवीय सहायता गाजामा पुग्नबाट रोकिएको छ । यसका कारण गाजामा अनिकाल फैलिएको छ । विश्व स्वास्थ्य संगठनले आइतबार गाजामा कुपोषण खतरनाक स्तरमा पुगेको चेतावनी दिएको छ ।
विश्व स्वास्थ्य संगठनले भोकमरीका कारण धेरै मानिसहरूको मृत्यु भइरहेको तर यसलाई पूर्ण रूपमा रोक्न सकिने बताएको छ । यस वर्ष गाजामा कुपोषणकै कारणले मात्र ७४ जनाको मृत्यु भएको डब्ल्यूएचओले बताएको छ । यी मध्ये ६३ जनाको मृत्यु जुलाई महिनामा मात्रै भएको छ । यसमा पाँच वर्ष मुनिका २४ बालबालिका थिए ।
गाजामा हरेक पाँच मध्ये एक बालबालिका कुपोषित रहेको डब्ल्यूएचओले बताएको छ । जुन महिनादेखि गाजामा कुपोषित बालबालिकाको सङ्ख्या तीन गुणाले बढेको छ ।
इजरायलले गाजामा पुग्ने सबै मानवीय सहायता हमासले जफत गरेको आरोप लगाएको छ । इजरायलले मानवीय सहायतामा प्रतिबन्ध लगाउनुलाई हमासलाई वार्ता सुरु गर्न दबाब दिने कदमको रूपमा पनि हेरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij