Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

ममता काफ्ले बेपत्ता प्रकरण : नरेश भट्टमाथिकाे मुद्दा २०२६ सम्म स्थगित

ममता काफ्ले बेपत्ता प्रकरण : नरेश भट्टमाथिकाे मुद्दा २०२६ सम्म स्थगित

काठमाडौं : अमेरिकामा बेपत्ता पारिएकी नेपाली नर्स ममता काफ्लेका पति नरेश भट्टमाथि चलिरहेको मुद्दा एक वर्षभन्दा बढी पछि सारिएको छ। मुद्दा स्थगित भएसँगै न्यायको अपेक्षा गरिरहेका परिवारजन र अधिकारकर्मीहरूलाई ठूलो झट्का लागेको छ।

प्रिन्स विलियम काउन्टी सर्किट अदालतकी न्यायाधीश किम्बर्ली ए. इरभिङले सुरुवाती रूपमा प्रतिवादी पक्षबाट गरिएको लामो म्यादको आग्रहप्रति आश्चर्य व्यक्त गरे पनि अन्ततः अभियोजन पक्षले समर्थन गरेपछि मुद्दा २०२६ अक्टोबरसम्म स्थगन गरिएको हो। अब पूर्वनिर्धारित सेप्टेम्बर २०२५ को साटो, मुख्य सुनुवाइ अक्टोबर ५, २०२६ मा सुरु हुनेछ। प्रि–ट्रायल बैठक भने २०२६ सेप्टेम्बर १० मा तोकिएको छ।

तीन संगीन अभियोगमा थुनामा छन् नरेश भट्ट म्यानासस पार्क निवासी नरेश भट्टमाथि पहिलो दर्जाको हत्या, मृत शरीर लुकाएको र मृत शवलाई अङ्गभङ्ग गरेको अभियोग लागेको छ। उनलाई २०२४ अगस्ट २२ मा पक्राउ गरिएको थियो। त्यसबेला उनीमाथि ममताको शव लुकाएको अभियोग मात्र लगाइएको थियो। पछि २०२४ डिसेम्बर ४ मा हत्या र मृत शरीरको अपमानसम्बन्धी थप अभियोग लगाइएका थिए।ममताको शव अहिलेसम्म फेला परेको छैन। तर म्यानासस पार्क प्रहरीले विगत एक वर्षमा ५० भन्दा बढी ठाउँमा खोजी कार्य गरेको छ।

शुक्रबारको सुनुवाइमा प्रतिवादीका वकिल शालेभ बेन–अव्राहामले ममताको परिवारप्रति सहानुभूति जनाउँदै भने “म यो पीडाको स्तर कल्पना पनि गर्न सक्दिन।” अभियोजन पक्षका डेपुटी कमनवेल्थ अटर्नी म्याथ्यु स्वीट र वरिष्ठ सहायक अटर्नी साराह सामीले मुद्दाको तयारीका लागि थप समय आवश्यक भएकाले मुद्दा पछि सार्न सहमति जनाएका थिए।

ममताको परिवार अझै अमेरिका मै ममताकी आमा गीता काफ्ले र दाजु महेश काफ्ले २०२४ अक्टोबरमा अमेरिका आइपुगेका थिए र हालसम्म अमेरिकामै बस्दै ममताकी शिशु छोरी नीमाको हेरचाह गरिरहेका छन्।अबको मुद्दा प्रक्रिया अनुसार पाँच हप्ता प्रमाण प्रस्तुतिकरणमा लाग्नेछ। चार हप्ता अभियोजन पक्ष र एक हप्ता प्रतिवादी पक्षको हुनेछ। ज्यूरी चयनको लागि ‘voir dire’ नामक एक हप्ता लामो प्रक्रिया सञ्चालन हुनेछ, जसमा ३०० नागरिकहरूलाई बोलाइनेछ।सुनुवाइ अक्टोबर ५ देखि नोभेम्बर १९, २०२६ सम्म चल्ने गरी सात हप्ताको समय छुट्याइएको छ।

सुनुवाइपछि पत्रकार सम्मेलनमा ममताकी पुरानी सहकर्मी तथा समर्थनकर्ता होली विर्थले अभियोजन पक्षको ढिलाइप्रति गम्भीर असन्तोष व्यक्त गरिन्। ‘हामी म्याथ्यु स्वीट र साराह सामीप्रति गहिरो निराशा व्यक्त गर्छौं। न्यायाधीश आफैँ पनि यति ठूलो स्थगनको प्रस्तावप्रति सहज देखिनु भएन,’ विर्थले भनिन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij