Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

युएसएड अन्तर्गत किनिएका करोडौं मूल्यका परिवार नियोजनका साधनहरु जलाउने ट्रम्पको तयारी

युएसएड अन्तर्गत किनिएका करोडौं मूल्यका परिवार नियोजनका साधनहरु जलाउने ट्रम्पको तयारी

काठमाडौं : अमेरिकाले झन्डै एक करोड डलर मूल्यका परिवार नियोजनका साधनहरू फ्रान्स लगेर जलाउने तयारी गरेको छ।अमेरिकी अन्तर्राष्ट्रिय सहायता एजेन्सी (युएसएड) कार्यक्रम अन्तर्गत वितरण गर्न खरिद गरी बेल्जियमको गोदाममा थन्किएका करौडौं मूल्यका परिवार नियोजनका साधनहरू अमेरिकाले फ्रान्स लगेर जलाउन लागेको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गरिब मुलुकमा निःशुल्क वितरणका लागि खरिद गरिएका साधनहरू बेल्जियमको एन्डवर्प प्रान्तको गोल सहरको गोदाममा महिनौंदेखि थन्किएका छन्।

ट्रम्प प्रशासनले युएसएडमार्फत हुने सहायता रोकेपछि गोदाममै थन्किएका ती साधनहरुलाई अमेरिकी सरकारको निर्णयअनुसार नै फ्रान्स लगेर जलाउने तयारी गरिएको रोयटर्सको समाचारमा उल्लेख छ।गोदाममा थन्किएका ती साधनको मूल्य झन्डै एक करोड अमेरिकी डलर पर्छ।

यी सामग्रीमा गर्भनिरोधक चक्की, इम्प्लान्ट र युटेरसभित्र राखिने उपकरण (आइयुडी) छन्। यी साधनहरूको म्याद २०२७ देखि २०३१ सम्म रहेको भनिएको छ।बेल्जियम सरकार तथा विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरूले गोदाममा थन्किएका परिवार नियोजनका साधनहरू आफूलाई बेच्न प्रस्ताव गरेको थियो।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) र एमएसआई रिप्रोडक्टिभ च्वाइसजस्ता संस्थाहरूले त युएसएआइडीको ट्याग हटाएर ती सामग्रीहरू प्याक गर्न, ढुवानी गर्न र भन्सार खर्च समेत आफैले ब्योहर्ने प्रस्ताव गरेको थियो।

ती संस्थाहरुले परिवार नियोजनका साधनहरूको आवश्यकता विश्वभर दिन प्रतिदिन बढिरहेको र विशेष गरी गरिब मुलुकहरूमा यसको आवश्यकता रहेकाले आफू किन्न तयारी रहेको बताएका थिए।

ती सबै प्रस्तावलाई ट्रम्प प्रशासनले अस्वीकार गरिदिएको भनेर रोयटर्सले लेखेको छ।अमेरिकाले फ्रान्सको एउटा मेडिकल फोहोर जलाउने केन्द्रमा बेल्जियमबाट ट्रकमा भरेर ती सामग्रीहरू लैजाने र जलाउने तयारी भएको बताइएको छ।

बेल्जियमबाट फ्रान्स पठाउन दर्जनौं ट्रक आवश्यक पर्छ। ट्रकमा भरेर सामान फ्रान्स पठाउँदा र त्यहाँ जलाउँदा कुल १ लाख ६० हजार अमेरिकी डलर खर्च हुने अनुमान छ। पूरा प्रक्रियाका लागि झन्डै दुई साता लाग्ने बताइएको छ।यता, बेल्जियमका विदेश मन्त्रालयले ती सामग्रीहरू नष्ट हुन नदिन अमेरिकासँग समन्वय गरिरहेको बताएको छ।

अमेरिकी संसदका केही सदस्यहरूले पनि ती सामग्री नष्ट गर्न नपरोस् भनेर दुईवटा विधेयक संसदमा दर्ता गरेका छन्। तर सहायता संस्थाहरूले ती विधेयक पास नहुन्जेलसम्म सामग्री नष्ट हुने खतरा उच्च रहेको बताएका छन्।

यो घटनाले अमेरिकाको वैदेशिक सहायता नीति, प्रजनन अधिकार र राजनीतिक वैचारिकताबीचको संघर्षलाई पुनः सतहमा ल्याएको छ।राष्ट्रपति ट्रम्प गर्भपतनको कट्टर विरोधी हुन्। अमेरिकी सहायता गर्भपत सेवा दिने वा त्यसलाई समर्थन गर्ने क्षेत्रमा पुग्न हुँदैन भन्ने उनको नीति छ। – एजेन्सी

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij