नयाँ दिल्ली : बलिउड अभिनेत्री आलिया भट्टकी पूर्व निजी सहायक वेदिका प्रकाश शेट्टीलाई पक्राउ गरिएको छ । आलियाको प्रोडक्सन हाउस र व्यक्तिगत खाताबाट ७७ लाख रुपैयाँ ठगी गरेको आरोप उनीमाथि लागेको छ । यो मुद्दा जुहू प्रहरीले दर्ता गरेको हो । यसमाथि अनुसन्धान भइरहेको छ । हाल आलिया भट्ट वा उनको टोलीले यस विषयमा कुनै बयान जारी गरेको छैन ।
वेदिका शेट्टीलाई आलिया भट्टको प्रोडक्सन हाउस ‘इटर्नल सनशाइन प्रोडक्सन प्राइभेट लिमिटेड’ र आलियाको व्यक्तिगत खाताबाट पैसा निकालेको आरोपमा पक्राउ गरिएको हो । मिडिया रिपोर्टका अनुसार शेट्टीले यी दुवै खाताबाट अवैध रूपमा ७७ लाख रुपैयाँभन्दा बढी रकम झिकेकी छिन् । यस मुद्दामा अनुसन्धान भइरहेको र थप विवरण आउन सक्ने बताइएको छ ।
प्रहरीले केही महिनाअघि आलियाकी आमा सोनी राजदानको उजुरीमा यो मुद्दा दर्ता गरेको थियो । लगभग ५ महिनापछि आरोपीलाई बेंगलुरुबाट पक्राउ गरी अदालतमा पेस गरिएको छ । वेदिकामाथि आलियाको नक्कली हस्ताक्षर गरेर दुई वर्षमा ७७ लाख चोरेको आरोप छ ।
आलियाले २०२१ मा ‘इटरनल सनशाइन प्रोडक्सन’ नामक कम्पनी खोलेकी थिइन् । आलियाको यस प्रोडक्सन हाउसको पहिलो फिल्म ‘डार्लिङ्स’ थियो यस फिल्मलाई शाहरुख खानको कम्पनी रेड चिलीज इन्टरटेनमेन्टसँग मिलेर बनाइएको थियो । यस फिल्ममा आलिया भट्ट, विजय वर्मा र शेफाली शाहले महत्त्वपूर्ण भूमिका खेलेका थिए । फिल्म नेटफ्लिक्समा स्ट्रिम गरिएको थियो र दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको थियो ।
आलिया भट्ट यतिबेला स्पाइ युनिभर्स फिल्म ‘अल्फा’को छायाङ्कनमा व्यस्त छिन् । यस फिल्ममा शर्वरी वाघ पनि मुख्य भूमिकामा देखिनेछिन् । यो फिल्म २५ डिसेम्बर २०२५ मा रिलिज हुनेछ ।
आलिया चाँडै नै आफ्ना अभिनेता–पति रणवीर कपूरसँग सञ्जय लीला भन्सालीको फिल्म ‘लभ एन्ड वार’ मा देखिदैँछिन् । यो फिल्ममा विक्की कौशल पनि मुख्य भूमिकामा छन् । आलियाको हातमा फरहान अख्तरको फिल्म ‘जी ले जरा’ पनि छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij