Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

टेक्सासमा बाढी : १३ जनाको मृत्यु, २० भन्दा बढी बालिका बेपत्ता

टेक्सासमा बाढी : १३ जनाको मृत्यु, २० भन्दा बढी बालिका बेपत्ता

टेक्सास : मुसलधारे वर्षाका कारण संयुक्त राज्य अमेरिकाको दक्षिण-मध्य टेक्सासस्थति ग्वाडालुप नदीमा ठुलो बाढी आएको छ। यसबाट कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ग्रीष्म शिविरबाट २० भन्दा बढी बालिकाहरू बेपत्ता भएका छन्, स्थानीय अधिकारीहरूले जनाएका छन्।

अमेरिकी राष्ट्रिय मौसम सेवाले बिहीबार केर काउन्टीका केही भागहरूका लागि बाढीको आपत्कालीन अवस्था घोषणा गरेको छ। यो केर काउन्टी दक्षिण-मध्य टेक्सास हिल कन्ट्रीमा पर्छ र सान एन्टोनियोबाट लगभग १०५ किलोमिटर उत्तरपश्चिममा अवस्थित छ। यस क्षेत्रमा ३०० मिमिसम्मको भारी वर्षा भएको थियो।

काउन्टी सिट केर्भिलका सहर प्रबन्धक डाल्टन राइसले पत्रकारहरूलाई बताएअनुसार अत्यधिक बाढी बिहानै, कुनै चेतावनीविना नै आएको थियो, जसले गर्दा अधिकारीहरूले कुनै पनि आदेश जारी गर्न सकेनन्।राइसले भने, ‘यो धेरै छिटो, धेरै छोटो समयमा भयो जसलाई राडारबाट पनि पूर्वानुमान गर्न सकिँदैनथ्यो । यो सबै दुई घण्टा भन्दा कम समय भित्र भयो।’

लेफ्टिनेन्ट गभर्नर ड्यान प्याट्रिकले पीडितहरूको खोजीमा हालसम्म ६ देखि १० वटा शव फेला परेको बताए। यसैबिच, पत्रकार सम्मेलनमा, केर काउन्टी शेरिफ ल्यारी लिथाले बाढीबाट १३ जनाको मृत्यु भएको जानकारी दिए।

प्याट्रिकले बताएअनुसार स्थानीय समयअनुसार बिहान करिब ४ बजे बाढीले बगाएको ग्रीष्म शिविरमा रहेका ७०० भन्दा बढी बच्चाहरूमध्ये २३ जना बालिकाहरू बेपत्ता भएका छन्। ‘यसको अर्थ उनीहरूलाई गुमाएको भन्ने होइन, उनीहरू रुखमा हुन सक्छन्, उनीहरू सम्पर्कबाहिर हुन सक्छन्,’ उनले भने।

मध्य केर काउन्टीमा रातभर कम्तीमा २५० मिमि वर्षा भएको थियो, जसले ग्वाडालुप नदीमा बाढी निम्त्यायो । ‘केही वयस्कहरू छन्, केही बच्चाहरू छन्,’ प्याट्रिकले पत्रकार सम्मेलनमा भने, ‘फेरि, हामीलाई ती शवहरू कहाँबाट आएका हुन् भन्ने थाहा छैन।’आपत्कालीन टोलीहरूले दर्जनौँ उद्धार कार्यहरू सञ्चालन गरेका छन् । बेपत्ता भएकाहरूको खोजी जारी रहेको छ ।

–अल जजिरा

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट