Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

विश्वभरका युवाको मन जितिरहेका को हुन् यी ३६ वर्षीय राष्ट्रपति ?

विश्वभरका युवाको मन जितिरहेका को हुन् यी ३६ वर्षीय राष्ट्रपति ?

अहिलेको अफ्रिकी भू-राजनीतिमा बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरेले सत्ता सत्तामा पुगेका छन्।उनले २०२२ को सेप्टेम्बरमा सैनिक 'कू' मार्फत सत्ता कब्जा गरेपछि देशको सुरक्षा र आर्थिक नीति परिवर्तन गरे। तर, उनका नेतृत्वले जिहादी विद्रोह, मानवीय संकट र पश्चिमी प्रभावको चुनौतीहरू सामना गरिरहेको छ। अहिलेको अफ्रिकी भू-राजनीतिमा यदि कसैले तरङ्ग उत्पन्न गरिरहेको छ भने ती हुन् क्याप्टेन इब्राहिम ट्राओरे । उनी बुर्किना फासो नामक देशका अन्तरिम राष्ट्रपति हुन् ।

सन् २०२२ को सेप्टेम्बरमा भएको सैन्य ‘कू’ पछि सत्तामा पुगेका उनी विश्वका कान्छा राष्ट्रप्रमुखमध्येका एक हुन् । अहिले ३७ वर्षमा हिँडिरहेका उनको उदय भने देशको बढ्दो सुरक्षा संकट र पश्चिमी प्रभावप्रतिको व्यापक असन्तुष्टिको पृष्ठभूमिमा भएको हो ।

उनै इब्राहिम यतिबेला सामाजिक सञ्जालमा व्याप्त छन् । देशलाई स्वतन्त्रता, आत्मनिर्भरता र गरिमातर्फ डोर्‍याइरहेका युवा नेता भनेर उनको चर्चा भइरहेको छ । कतिपयले भने देशमा उनी जस्तै व्यक्ति चाहिने भनेर पनि प्रशंसा गरिरहेका छन् ।फ्रान्स विरोधी हुनु, रुससँगको सम्बन्ध राम्रो हुँदै जानु, देशको आर्थिक उन्नतिमा जोड दिनु, युवा नेतृत्व हुनु आदि उनको चर्चाको कारण हो ।

को हुन् इब्राहिम ट्राओरे ?

उनको जन्म १४ मार्च १९८८ मा बुर्किना फासोको बोन्डोकुय, केरा नामक ठाउँमा भएको थियो । प्राथमिक शिक्षा त्यहीँ प्राप्त गरेपछि उनी देशको दोस्रो ठूलो शहर बोबो डिउलासोमा पढ्न गए । त्यहाँ उनलाई शान्त र प्रतिभाशाली व्यक्ति भनेर चिनिने गरिन्थ्यो ।

सन् २००६ मा उनी औगाडुगु विश्वविद्यालयमा भू-विज्ञान अध्ययन गर्न भर्ना भए । खासमा राजनीतिक उनको त्यहीँदेखि नै सुरु भएको थियो । विश्वविद्यालयमा हुँदा मुस्लिम विद्यार्थी संघ र मार्क्सवादी राष्ट्रिय विद्यार्थी संघका उनी सदस्य थिए ।त्यसपछि सन् २००९ मा बुर्किना फासोको सेनामा भर्ना भए । सेवाप्रवेशको पाँच वर्षपछि सन् २०१४ मा उनी लेफ्टिनेन्टमा पदोन्नति भए । र, शान्ति सेना भएर माली युद्धमा सेवा पनि गरे ।

मालीबाट फर्केपछि भने उनले देशको उत्तरी क्षेत्रमा बढ्दो जिहादी विद्रोह (इस्लामको नाममा आतंक फैलाउने अतिवादी समूहहरूको सशस्त्र आक्रमण) विरुद्धको अभियानमा भाग लिए । सन् २०२० सम्ममा त्यस अभियानको उनी क्याप्टेन भइसकेका थिए भने एउटा तोपखाना युनिटको नेतृत्व गर्न थालिसकेका थिए ।

कसरी सत्तामा आए ?

इब्राहिम ट्रओरेको सत्ता आरोहण नाटकीय लाग्छ । किनकि उनी सत्तामा पुग्न हिँडेका थिएनन् । तर समय त्यस्तो बनिदियो कि अचानक उनी सत्तामा पुगे ।२०२२ को जनवरीमा लेफ्टिनेन्ट कर्नल पल हेनरी सान्डाओगो डामिबाले राष्ट्रपति रोच मार्क क्रिश्चियन काबोरेको सरकारलाई कू मार्फत अपदस्थ गरेका थिए । सो कदमको ट्रओरेले समर्थन गरेका थिए ।

तर डामिबाले पनि देशमा बढ्दो जिहादी विद्रोह नियन्त्रण गर्न नसकेको भन्दै नागरिकबाट ठूलो असन्तुष्टि आइरहेको थियो । यता डामिबाका सैनिकहरूले पनि उचित तलब तथा सुविधा नपाएको गुनासो बढाइरहेका थिए ।

त्यस्तैमा इब्राहिमले असन्तुष्ट सैनिक अधिकारीहरूको एउटा समूहलाई नेतृत्व गरे । र, २०२२ सेप्टेम्बर ३० मा उनले डामिबा सरकार विरुद्ध नै ‘कू’ को घोषणा गरे ।त्यसक्रममा उनले ९ बजेदेखि ५ बजेसम्म कर्फ्यू लगाए । सबै राजनीतिक र नागरिक समाजका गतिविधिहरू निलम्बन गरे । हवाई र भूमि सीमानाहरू बन्द गरे । त्यसमा सैन्य पृष्ठभूमि र जिहादी विरुद्धको लडाईंमा पाएको अनुभवले सैनिक र सर्वसाधारण दुवैको विश्वास जित्न इब्राहिमलाई सजिलो भयो । जसले उनको कूलाई वैधता पनि प्रदान गर्‍यो।त्यसको केही दिनपछि दामिबा पद छोड्न बाध्य भए । यसरी उनी अक्टोबर २०२२ मा अन्तरिम राष्ट्रपतिको रूपमा सत्तामा आए ।

उनले के गरे ?

सत्तामा आएपछि इब्राहिमले देशको नीतिगत, कूटनीतिक र सुरक्षा क्षेत्रमा नाटकीय परिवर्तन ल्याए । सबैभन्दा पहिले देशको सार्वभौमिकता र उपनिवेशवादविरुद्धको अडानलाई व्यवहारमा उतारे ।

त्यसका लागि फ्रान्ससँगको सैनिक सम्झौता तोडे । अनि फ्रान्सेली सेनालाई देशबाट निष्कासन समेत गरे । उनको यो काम बुर्किना फासोलाई पश्चिमी प्रभावबाट मुक्त गराउने अभियानको थालनी थियो ।

त्यस्तै उनले पश्चिमी राष्ट्र तथा विश्व बैंक जस्ता संस्थाहरूको सर्तमा आधारित सहयोग र ऋण नलिने घोषणा गरे । बरु आर्थिक आत्मनिर्भरताको बाटो अँगाले । त्यसका लागि खनिज स्रोतमा विदेशी नियन्त्रण घटाउन दुईवटा सुन खानीलाई राष्ट्रियकरण गरे । राष्ट्रिय सुन प्रशोधन केन्द्र स्थापना गरे । र, प्रशोधन नभएका सुनलाई युरोप निर्यातमा रोक लगाए ।

त्यसैगरी कृषि सम्बन्धीका मेसिनरी वितरण, ग्रामीण सडक निर्माण, नयाँ एयरपोर्ट निर्माणका परियोजना सुरु गरे । सुरक्षाको क्षेत्रमा पनि उनले त्यस्तै आकर्षक तरिकाले काम गरे । उनले देशमा बढ्दो जिहादी विद्रोहलाई नियन्त्रण गर्न नागरिकहरू समावेश हुने गरी ‘देशको रक्षाका लागि स्वयंसेवक’ अभियान थाले । अहिले यसमा ५० हजार बढी युवाहरू परिचालित रहेको बताइन्छ ।

यसबाहेक उनले सैन्य उपकरण बढाउने, सरकारी अधिकारीहरूको खर्च कटौती गर्ने र आफूले राष्ट्रपतिको हैसियतमा कुनै तलब नलिने निर्णय गरे । त्यस्तै उनले बुर्किना फासो, माली र नाइजरबीच क्षेत्रीय गठबन्धन स्थापना गरे ।

उनका यी यस्ता कामले राष्ट्रवादीको छवि बनायो । र उनी विशेषतः अफ्रिकी युवापुस्तामाझ लोकप्रिय भए । त्यसको प्रचार हुँदा उनको चर्चा विश्वव्यापी हुन गयो । यद्यपि उनको नेतृत्वले जिहादी विद्रोह, मानवीय संकट, कमजोर सुशासन, आर्थिक अस्थिरता, पश्चिमी शक्तिहरूसँगको तनाव जस्ता चुनौतीहरू पनि व्यहोरिरहेका छन् ।

बुर्किना फासो आज पनि आतंकवादबाट प्रभावित देशमध्येमै पर्छ । देशको ठूलो हिस्सा अझै पनि जिहादी समूहहरूको नियन्त्रणमा छ । हजारौं विद्यालय र स्वास्थ्य चौकी बन्द छन् । अहिलेसम्म करिब २० लाख बढी नागरिक विस्थापित भइसकेका छन् । सैन्य सरकार भएकाले शान्ति भन्दा अस्थिरता बढाएको आरोप पनि छ ।

त्यस्तै इब्राहिमले मानवअधिकारकर्मी र विपक्षी आवाजहरूलाई दबाउन खोजिरहेको आरोप पनि लाग्न थालिसकेको छ । देशको राजनीतिक स्थायित्व र लोकतान्त्रिक सङ्क्रमणको स्पष्ट खाका अझै अस्पष्ट छ ।

अनि मुख्य कुरो सामाजिक सञ्जालमा उनको ‘कल्ट अफ पर्सनालिटी’ (देवत्वकरण गर्नु) बनाइँदै गर्दा समय अझैं बाँकी भएको पनि धेरैले बिर्सँदै गइरहेका छन् । तर, देशलाई जसरी उनले एउटा अवस्थाबाट अर्को अवस्थामा लान कदम चाले, त्यो धेरैका लागि प्रेरणादायी बन्यो ।यसले गर्दा नै उनी विश्व राजनीतिमा चर्चामा आएका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट