काठमाडौं : चिनियाँ वैज्ञानिकहरूले पहिलो पटक सुँगुरको भ्रूणमा मानव कोशिकायुक्त मुटुको विकास गर्न सफल भएका छन् । यस सफलतालाई चिकित्सा विज्ञानको क्षेत्रमा यो प्रगतिलाई ऐतिहासिक फड्को मानिएको छ । यदि यसरी मुटुको पूर्ण विकास गर्न सकियो भने अंगहरु ट्रान्सप्लान्ट गर्दा आइपर्ने मानव अंगको अभावहरूको परिपूर्ति गर्ने जनाइएको छ ।
चीनको ग्वान्झाओ इन्स्टिच्युट अफ बायोमेडिसिन एण्ड हेल्थका अनुसन्धानकर्ताहरुले सुँगुरको भ्रूणमा मानव स्टम सेल प्रत्यारोपण गरी मानव–सुँगुर भ्रूण मिश्रित भ्रूणको विकास गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
द टाइम्स युके र प्रतिष्ठित विज्ञान जर्नल नेचरमा प्रकाशित समाचार अनुसार ती भ्रूणहरूलाई २५ देखि ३० दिनसम्म प्रयोगशालामा हुर्काइएको थियो ।अनुसन्धानमा संलग्न वैज्ञानिक डा. लाय लियाङ्सुए लाइका अनुसार ती भ्रूणमा विकसित भएको मुटुमा ६० प्रतिशतसम्म मानव कोशिका रहेको पुष्टि भएको हो ।
उनी ग्वानझाओ इन्स्टिच्युट अफ बायोमेडिसिन एण्ड हेल्थका तथा चाइना एकेडेमी अफ साइन्सेस का प्रमुख अनुसन्धानकर्ता हुन्। उनकै टोलीले मानव अंग प्रत्यारोपणको सन्दर्भमा ऐतिहासिक सफलता हासिल गरेको हो ।
अनुसन्धान टोलीका वैज्ञानिकहरूका अनुसार मानव–सुँगुरको मुटुको प्रारम्भिक संरचनाले धड्कनको गति समेत देखाएको थियो । यद्यपि ती संरचना पूर्ण विकसित अंग भने होइनन् । तर अनुसन्धानकर्ताले यसलाई मानव अंग उत्पादनको दिशामा ठूलो फड्को भएको बताएका छन् ।यसै पनि अंग प्रत्यारोपणको सन्दर्भमा बिरामीले अंग नपाउनु विश्वव्यापी संकट हो । हरेक वर्ष लाखौं बिरामीहरू उपयुक्त अंग नपाएर मृत्युको मुखमा पुग्छन् ।
नेपालमै पनि अवैध रूपमा मिर्गौला बेचबिखन गर्ने गिरोहहरू पक्राउ परेका समाचार आइरहन्छन् । यस्तो विकराल अवस्थामा जनावरको शरीरमा मानव अंग हुर्काउने अवधारणाले भविष्यमा उपयुक्त मानव अंग उत्पादन गर्ने सम्भावना देखाएको छ ।वैज्ञानिकहरूका अनुसार यस्तो प्रगतिले भविष्यमा जीन–सम्पादन र अंग–इन्जिनियरिङ प्रविधिहरूको सहायता लिँदै जनावरभित्र मानव–उपयुक्त अंग हुर्काउने सपना सम्भव हुने विश्वास गरिएको छ।
यद्यपि चिकित्सा क्षेत्रमा नयाँ सम्भावनाहरूको ढोका खुले पनि यसले अनेकौँ नैतिक बहस समेत जन्माएको छ । मानव अंगहरु जनावरमा विकसित गर्दा जनावरले अनुभूत गर्ने पीडा र पशु अधिकारको जटिल मुद्दा पनि सँगसँगै उठेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij