Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सलमान खानलाई लागेको रोग ब्रेन एन्युरिज्म कत्तिको खतरनाक ?

सलमान खानलाई लागेको रोग ब्रेन एन्युरिज्म कत्तिको खतरनाक ?

मुम्बई, १० असार : भारतीय हास्य कलाकार कपिल शर्माको कार्यक्रम ‘द ग्रेट इन्डियन कपिल शो’ को तेस्रो सीजनको पहिलो कार्यक्रममै सुपरस्टार सलमान खान पहिलो अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रममा एउटा प्रश्नको जवाफ दिने क्रममा सलमान खानले आफू ‘ब्रेन एन्युरिज्म’ नामक रोगबाट पीडित भएको बताएर आफ्ना करोडौं प्रशंसकहरुलाई दुःखी बनाएका छन् । आफ्नो स्वास्थ्य समस्याको बारेमा कुरा गर्दै सलमानले ‘सिकन्दर’ को छायांकनको क्रममा आफ्नो करङमा चोट लागेको बताए ।

उनले भने– ‘मेरो हरेक दिन हड्डी भाँचिरह्यो, करङ भाँचिरह्यो, म ट्राइजेमिनल न्यूराल्जियासँग जुधिरहेको छु । मस्तिष्कमा एन्युरिज्म छ, अझै पनि म काम गरिरहेको छु । अझै पनि म हिँडिरहेका छु । म एक्सन गर्छु । म हिँड्न सक्दिन, तर पनि अझै नाचिरहेको छु । मेरो जीवनमा यही भइरहेको छ ।’

सलमानको यो भनाइपछि मानिसहरू इन्टरनेटमा ब्रेन एन्युरिज्मसँग सम्बन्धित जानकारी खोजिरहेका छन् । उनीहरुले ब्रेन एन्युरिज्म के हो र यो रोग कति खतरनाक छ ? भन्ने बारेमा खोजिरहेका छन् ।

ब्रेन एन्युरिज्म के हो ?

नसा (रक्त नली) मा हुने बल्जलाई एन्युरिज्म भनिन्छ । यो बल्ज नसाहरूको कमजोरीको कारणले हुन्छ, विशेष गरी जहाँ नसा दुई भागमा विभाजित हुन्छ । जब रगत यो कमजोर भागबाट जान्छ, यसको दवावले त्यो ठाउँलाई बाहिरतिर फुलाउँछ, बेलुन जस्तै फुल्छ । शरीरको कुनै पनि नसामा एन्युरिज्म हुन सक्छ, तर तिनीहरू दुई ठाउँमा धेरै सामान्य हुन्छन् ।

*मुटुबाट शरीरमा रगत पुर्‍याउने धमनी ।

*मस्तिष्क ।

*यदि एन्युरिज्म मस्तिष्कमा छ भने, यसलाई ब्रेन एन्युरिज्म भनिन्छ ।

ब्रेन एन्युरिज्मलाई मुख्यतया तीन वर्गमा विभाजन गरिएको छ

सेकुलर एन्युरिज्म

यसलाई बेरी एन्युरिज्म पनि भनिन्छ । यो एन्युरिज्म दाखको बोटमा झुण्डिएको अंगूर जस्तो देखिन्छ । यो रगतले भरिएको गोलो थैली हो जुन मुख्य धमनी वा यसको हाँगाहरू मध्ये एकबाट निस्कन्छ । यो प्रायः मस्तिष्कको आधारमा (तल) धमनीहरूमा बन्छ । बेरी एन्युरिज्म एन्युरिज्म सबैभन्दा सामान्य प्रकारको एन्युरिज्म हो ।

फ्युसिफर्म एन्युरिज्म

यस प्रकारको एन्युरिज्म धमनी वरिपरि सुन्निन्छ, अर्थात्, धमनीका सबै भागहरू सुन्निन्छन् ।

माइकोटिक एन्युरिज्म

यो एन्युरिज्म संक्रमणको कारणले हुन्छ। जब संक्रमणले मस्तिष्कको धमनीहरूलाई असर गर्छ, यसले तिनीहरूको पर्खाललाई कमजोर बनाउँछ । यसले एन्युरिज्मको गठन निम्त्याउन सक्छ ।

ब्रेन एन्युरिज्म नफुटेसम्म खतरनाक हुँदैन । यदि यो फुट्यो भने, यो एक धेरै खतरनाक अवस्था हो, जसलाई सबराक्नोइड हेमोरेज भनिन्छ । यसले मस्तिष्कमा रक्तस्राव निम्त्याउँछ र मस्तिष्कलाई ठूलो क्षति पुर्‍याउन सक्छ ।

अचानक, गम्भीर र असहनीय टाउको दुखाइ (मानौं कसैले तपाईंलाई टाउकोमा कडा प्रहार गरेको छ), त्यस्तै घाँटी कडा हुने, वाकवाकी र बान्ता आउने र उज्यालोमा हेर्दा दुखाइ हुने हुनसक्छ । ब्रेन एन्युरिज्म फुट्न नसक्ने अवस्थामा सामान्यतया कुनै लक्षणहरू देखा पर्दैन, विशेष गरी यदि यो सानो छ भने ।यदि यो ठूलो छ भने, यसले नजिकैका स्नायुहरूमा दवाव दिन सक्छ, जसले गर्दा टाउको दुख्ने, दृष्टिमा परिवर्तन वा अनुहार सुन्निने जस्ता लक्षणहरू देखा पर्दछ ।

अनुसन्धानकर्ताहरूले रक्तनलीहरू किन कमजोर हुन्छन् भनेर पूर्ण रूपमा बुझ्न सकेका छैनन्, तर यसको लागि केही प्रमुख कारणहरू दिइएका छन् । जसमा धूम्रपान गर्नाले, उच्च रक्तचापका कारण, मस्तिष्क एन्युरिज्मको पारिवारिक इतिहास (आनुवंशिक कारणहरू), कहिलेकाहीं जन्मदेखि नै रक्तनलीहरू कमजोर हुने हुनाले, टाउकोमा चोटपटक आएमा र रक्सी र लागूपदार्थको सेवन गरेमा हुनसकने बताइएको छ ।

मस्तिष्क एन्युरिज्म जुनसुकै उमेरमा हुन सक्छ, तर ४० वर्षभन्दा माथिका मानिसहरूमा यो बढी सामान्य हुन्छ । पुरुषहरूको तुलनामा महिलाहरूमा यो हुने सम्भावना बढी हुन्छ ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार, इङ्गल्याण्डमा प्रत्येक वर्ष पन्ध्र हजार मानिसहरूमध्ये एक जनामा ​​मस्तिष्क एन्युरिज्म फुट्छ । अमेरिकामा आधारित ब्रेन एन्युरिज्म फाउन्डेसनका अनुसार, अमेरिकामा प्रत्येक वर्ष एक लाख मानिसहरूमा यसको आठ देखि दशवटा घटनाहरू रिपोर्ट गरिएको छ ।

मायो क्लिनिक अमेरिकाको एक निजी संस्था हो, जसले स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान गर्छ । संस्थाले मस्तिष्क एन्युरिज्मको बारेमा विस्तृत जानकारी दिएको छ । फुटेको मस्तिष्क धमनी निको पार्न सर्जिकल क्लिपिङ, एन्डोभास्कुलर उपचार र फ्लो डाइवार्जनबाट उपचार गर्न सकिने चिकित्सकहरु सुझाउछन् ।

एन्युरिज्मलाई रोक्न वा एन्युरिज्म बढ्ने र फुट्ने जोखिम कम गर्ने उत्तम तरिका भनेको तपाईंको रक्तनलीहरूलाई क्षति पुर्याउन सक्ने बानीहरूबाट बच्नु हो । यसबाट बच्न धूम्रपान नगर्ने, धेरै तारेको र भुटेको खाना नखाने, रक्तचाप नियन्त्रणमा राख्ने र अधिक तौल वा मोटोपना नराख्ने गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट