Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन सामग्री

सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन सामग्री

नवलपुर: नवलपुरको गैँडाकोट नगरपालिकाले सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान गरेको छ । मनसुनजन्य विपद्को जोखिममा रहेको गैँडाकोट नगरपालिकाले सशस्त्र प्रहरी बललाई रु पाँच लाख ५० हजार बराबरको ‘र्याफ्टिङ बोट’ सहितको एक सेट सामग्री प्रदान गरेको हो ।

नगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन समितिमार्फत पालिकाले र्याफ्टिङ बोट एउटा, लाइफ ज्याकेट छ थान, हेलमेट छ थान, प्याडल छ थान, बोटमा हावा भर्ने ह्याण्डपम्प र हावा नाप्ने मिटर एक–एक थान गैँडाकोटको भेडाबारीस्थित सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्र्वाटरलाई प्रदान गरिएको हो । नगरप्रमुख मदनभक्त अधिकारीले कार्यपालिकाको बैठकबाट निर्णय गरेर उद्धारका सामग्री खरिद गरेर प्रदान गरिएको बताउनुभयो ।

“मनसुनजन्य विपद्को हिसाबले नवलपुरको गैँडाकोट जोखिमयुक्त क्षेत्र हो, यहाँ बर्सेनि बाढीबाट ठूलो क्षति हुने गरेको छ”, उहाँले भन्नुभयो, “विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सहयोग पुर्याउने हिसाबले सशस्त्र प्रहरीलाई बाढीजन्य घटनामा उद्धार गर्न सहज होस् भनेर सहयोग गरिएको हो ।”

गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बाढीपहिरो, आगलागीजस्ता विपद्का घटना पालिकामा बर्सेनि हुने गरेको भन्दै विपद् व्यवस्थापनका लागि नीतिगत निर्णय गरेर अगाडि बढेको बताउनुभयो । “बाढीजन्य विपद् न्यूनीकरणका लागि उपकरण खरिद गरेर सशस्त्र प्रहरीलाई प्रदान गर्यौँ”, उहाँले भन्नुभयो, “आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि दमकल खरिदको प्रक्रिया अगाडि बढाइसेका छौँ ।” सशस्त्र प्रहरीसँग गोताखोरसहितका तालिमप्राप्त दक्ष जनशक्ति भएको तर आवश्यक उद्धारका सामग्री नभएको गुनासो आएपछि र्याफ्टिङ डुङ्गाको एक सेट खरिद गरी प्रदान गरिएको उहाँको भनाइ छ ।

उक्त विपद् व्यवस्थापन सामग्री हस्तान्तरणका क्रममा सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्र्वाटर भेडाबारीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक विनोद कार्कीले आफूहरूले अतिआवश्यक सामग्री प्राप्त गरेको बताउनुभयो । “हामीसँग तालिमप्राप्त दक्ष जनशक्ति पर्याप्त थियो तर बाढीजन्य विपद्मा उद्धार गर्न प्रयोग गरिने सामग्रीको अतिआवश्यक थियो”, उहाँले भन्नुभयो, “तालिमप्राप्त जनशक्तिले मात्रै नदीमा उद्धार गर्न सम्भव थिएन, अब हामीलाई सहज हुनेछ ।” दक्ष जनशक्तिलाई आवश्यक पर्ने उद्धार सामग्री प्राप्त भएपछि स्थानीय नागरिकको उद्धारमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

गैँडाकोट नगरपालिकामा कालीगण्डकी नदी र नारायणी नदीले बर्सेनि क्षति पुर्याउने गरेको छ । कालीगण्डकी नदीको कटान तथा नारायणीको बाढीले बर्सेनि गैँडाकोटमा ठूलो क्षति पुर्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट