काठमाडौँ : प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। नक्सालस्थित प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानुन तथा मानव अधिकार महाशाखाले मंगलबार एक सूचना प्रकाशित गर्दै गैरहाजिर हुनुको कारण सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो। खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिमको प्रक्रिया पूरा गरी सूचना टाँस गर्दासमेत कार्यालयको सम्पर्कमा नआएपछि प्रहरी प्रधान कार्यालयले यो सामूहिक सूचनामार्फत उनीहरूलाई सफाइको अन्तिम मौका प्रदान गरेको छ।
सूचनामा भनिएको छ, ‘तोकिएको अवधिभित्र आफू गैरहाजिर रहनुको कारण सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर नभए प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा सोही नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही प्रक्रिया अघि बढाइनेछ।’ हाजिर हुन निर्देशन दिइएकाहरूमा जिल्ला सशस्त्र प्रहरी गुल्म बाराका प्रहरी हवल्दार दिलिप कुमार सिंह, प्रहरी प्रभाग दरबारस्क्वायर भक्तपुरका प्रहरी जवान अनिल परियार, प्रहरी प्रभाग सानेपा ललितपुरका प्रहरी जवान संगम बि.सी. र इलाका प्रहरी कार्यालय दिल्पा भोजपुरका प्रहरी जवान सञ्जीव राई रहेका छन्।
त्यसैगरी प्रहरी चौकी चिलिङदिन पाँचथरका समीर लिम्बु, इलाका प्रहरी कार्यालय नवलपुर सिन्धुपाल्चोकका सन्तोष तामाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका विनोद दमै, इलाका प्रहरी कार्यालय रगदा जाजरकोटका टोप बहादुर सुनार, प्रहरी चौकी स्याउले डडेल्धुराका यसोदा कुमारी बोगटी, प्रहरी चौकी मेलबिसौना बझाङका करन बहादुर विष्ट र जिल्ला प्रहरी कार्यालय कैलालीका अमर सिंह साउदलाई पनि सात दिनभित्र हाजिर हुन भनिएको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij