काठमाडौं : वाग्मती प्रदेशको प्रतिनिधित्व गर्ने चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा उत्कृष्ट प्रदर्शनको लक्ष्यमा छ। कुशल मल्लको कप्तानीमा रहेको चितवनले सिजनका निम्ति विश्व क्रिकेटका उत्कृष्ट अलराउन्डर सिकन्दर रजालाई अनुबन्ध गरेको छ ।
जिम्बाब्वेका कप्तान रजा हाल टी–२० अन्तर्राष्ट्रियको अलराउन्डर वरीयतामा शीर्षस्थानमा छन् । उनीबाट टोलीले ठूलो आस गर्नेछ। यसैगरी, टोलीले रवि बोपारालाई निरन्तरता दिँदा कलिम सानालाई पनि भित्र्याएको छ । चितवनले तेस्रो सिजनका निम्ति आफ्ना पूर्व खेलाडी सोहेल तानवीरलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । तनवीरले अघिल्ला दुई सिजन चितवनबाटै खेलेका थिए ।
चितवनको ब्याटिङमा प्रमुख हतियार बोपारा नै हुनेछन् । उनले दुई सिजनमा गरी ५२३ रन प्रहार गरिसकेका छन् । बोपारालाई देव खनाल, दीपक बोहरा, अर्जुन साउदजस्ता खेलाडीले साथ दिनेछन् । सानाको आगमनपछि चितवनको बलिङ पनि केही बलियो बनेको छ । टोलीमा रिजन ढकाल, रञ्जित कुमार, मौसम ढकाल, कमलसिंह ऐरीजस्ता बलर छन् ।
रिजनले दुई सिजनमा १६ विकेट हात पारेका छन् । रञ्जितको नाममा १० विकेट छ । टोलीमा अलराउन्डरको पनि कुनै कमी छैन । सिकन्दर राजा ब्याटिङ र बलिङ दुवैमा निर्णायक बन्न सक्छन् । कप्तान कुशलको प्रदर्शन पनि सन्तोषजनक नै छ ।
विवेककुमार यादवलाई भित्र्याएर टोली थप मजबुत बनेको छ । चितवनको पछिल्लो दुई सिजनको प्रदर्शन मिश्रित खाले थियो। पहिलो सिजन प्लेअफसम्म पुगेको टोलीले दोस्रो सिजनमा भने लिग चरण पार गर्न सकेन ।
दुई सिजनमा गरी १५ खेल खेल्दा चितवनले ६ जित र ९ हारको नतिजा निकालेको थियो । चितवनले पहिलो सिजनको लिग चरणमा चार जित र तीन हारको नतिजा निकाल्दै प्लेअफको यात्रा तय गरेको थियो । एलिमिनेटरमा कर्णालीसँग स्तब्ध बन्दा चितवनको यात्रा अगाडि बढ्न सकेन ।
दोस्रो सिजनमा भने टोलीको प्रदर्शन निकै खराब रह्यो । मात्र दुई जित निकाल्न सकेको टोलीले सातौँ स्थानमा रहेर लिग सक्काएको थियो ।चितवनको स्वामित्व चितवन मेडिकल कलेजले १ करोड ७६ लाख रुपैयाँमा खरिद गरेको थियो । धेरै हल्ला नगरिकन राम्रो तयारी गरिरहेको चितवनको प्रदर्शन मैदानमा नै देखिनेछ
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij